२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नेपाली समाजमा रहेको महिला उत्पीडन «

हाम्रो समाजमा अनेक रङ्ग फेर्दै जीवन्त रहेको विभेदबाट उत्पीडित देशको कुल जनसङ्ख्याको आधा भन्दा बढी जनसङ्ख्या ओगटेको महिला जगत जसले आफू मानव हुनुको अनुभूति गर्न पाएको छैन । महिला हिंसा,जो हाम्रो समाजमा परापूर्वकालदेखि नै विभिन्न रूप फेर्दै आजको आधुनिक विश्व सम्म आइपुग्दा पनि विभेदको कलंकको रुपमा समाजमा जरा गाडेर बसेको छ । जसका कारण समाजमा असमानतासँगै विभिन्न हिंसात्मक गतिविधिहरूले प्रोत्साहन पाइरहेको छ । उसो त हाम्रो देश नेपाल अविकसितबाट विकासोन्मुखतिर लम्किरहेको छ । यसैक्रममा महिलाको विकासका लागि पनि अनेक नियम कानून बनेका छन्। वास्तवमै महिला विकास र महिला हिंसाको विषय महिलाहरूको मात्र नभई समग्र राष्ट्रकै सवाल हो । तर पनि समाजमा महिलामाथि धार्मिक र परम्परागत परिपाटी अनुसार समाजले असमान व्यवहार गरेको हामी पाउँछौँ ।

उसो त महिला र पुरुष एकबिना अर्को एकले मात्र पनि हामी मानव सृष्टिको कल्पना गर्न सक्दैनौं । शिशुलाई जन्म दिने र शारीरिक बनावटसिवाय महिला र पुरुषमा त्यस्तो कुनै भिन्नता त देखिँदैन ?

तर यो भिन्नता मात्रलाई पनि समाजले यसरी असमानतामा बदलिदिएको छ कि महिला भनेका दोस्रो दर्जाका प्राणी नै हुन्। महिलालाई दबाउने वा तिरस्कृत गर्ने ढंगबाट हाम्रो समाजमा उखान टुक्का नै बनेका हामी देख्छौं । उदाहरणका लागि पोथी बास्नुहुदैन, छोरी जोरले हाँस्नुहुदैन । यहीबाट पनि प्रस्ट हुन्छ कि हाम्रा मूल्य मान्यता र संस्कृतिबाट नै पुरुष जगतले महिलाको अस्तित्व तल्लो स्तरमा छ भन्ने देखाउन खोजेको कुरा ।

यो समाजका ज्ञानी र विद्वान् महामानवहरूले गरेको जघन्य आपराधिक कामलाई महान् पुण्यकाम सावित गरेर किताबहरू लेखेका छन् । सती प्रथा जस्ता आपराधिक क्रियाकलापलाई प्रोत्साहन दिंदै महिलाहरूलाई निरीह कैयाँ पुस्तकहरू अझै पनि हामी पढ्न पाउँछौं। यो देख्दा मात्र पनि हामी अनुमान लगाउन सक्छौं कि महिला आफैँमा कमजोर होइनन् यो समाजले महिलालाई कमजोर, निरीह र लाचार बनाएको हो । हिंसा सहन गर्न बाध्य बनाएको हो के महिलाको स्थिति मानव सभ्यताको उत्पत्तिसँगै यस्तो थियो त ? पक्कै पनि थिएन, मानव सभ्यताको सुरुआती चरणमा जतिबेला मानिसहरू जङ्गली युगमा थिए त्यो बेला मानिसहरूमा चेतनाको विकास भइसकेको थिएन । यसर्थ, त्यो समयमा महिला र पुरुषबिच कुनै पनि प्रकारको भिन्नता थिएन । त्यो बेला महिलाहरू पनि पुरुषसरह सिकार गर्न, लडाई गर्न र भारी बोक्नमा बराबरकै अब्बल थिए । त्यो समयमा महिलाहरू आत्मनिर्भर र स्वतन्त्र थिए ।

विस्तारै मानव सभ्यताले परिवर्तनीय रूपमा विभिन्न युगहरू पार गर्दै जाँदा मानिसहरूको जीवनस्तरमा पनि परिवर्तन हुँदै गयो । विस्तारै समाज सामूहिकबाट एकल परिवारतर्फ उन्मुख हुँदै गयो । त्यसपछि निजी सम्पत्तिको स्वामित्व बढ्न थाल्यो । जसले गर्दा परिवारमा श्रीमान् र श्रीमती मात्र हुने भएकोले उनीहरूले काम गर्नुपर्ने स्थिति सिर्जना भयो; जसमा महिलाहरूले बच्चा जन्माउनुपर्ने र उनीहरूको हेरचाह गर्न सहज हुने भएकोले महिलाहरूलाई घरको कामको जिम्मा मिल्यो भने पुरुषलाई बाहिरी कामको । मानिसहरू विस्तारै निजी सम्पति जोड्नमा लागे । पुरुषहरू बाहिरी काममा अग्रसर हुँदै गए। युद्ध गर्न,सिकार गर्नमा र बाहिर समाजमा आफ्नो प्रभुत्व जमाउन थाले । उनीहरू समाजका मुखिया, हुँदै पञ्चायत हुन थाले । नायक बन्न थाले । विस्तारै पुरुषहरूले आफ्नो लागि सुविधा बढाउँदै लग्न थाले । यसैक्रममा उनीहरूले महिला र आफूभन्दा कमजोर वर्गलाई शोषण गर्न थाले । शोषित वर्ग र महिलाहरूलाई आफ्नो नियन्त्रणमा राख्न पाप धर्मको अनेक नीति नियम बनाउन थाले। ती पुरुषहरूले नारीहरूलाई कैदी बनाउन छेकबार हाल्ने अनेक नीति-नियम लेखिन थालिए ।

जस्तै,केही कुरा हरू अझै पनि संस्कारको रूपमा हाम्रो समाजमा सुन्न, देख्न र भोग्न पाइन्छन् । घुम्ने महिलाहरूको अस्तित्व रहन्न, स्वास्नीलाई लोग्नेले मुलीमा राख्नुपर्छ, हाँस्ने महिलालाई बेश्याको संज्ञा दिइनु, श्रीमतीलाई श्रीमान्‌को चरणकी दासी बनाइनु, विधुवालाई देख्दा विवाह गर्दा अनिष्ट हुन्छ भन्ने सोच राख्नु । तर, पुरुषहरूका लागि २/४ ओटी केटी नघुमाए केको मर्द, खुट्टा भए जुत्ता कति, जस्ता कुराहरूलाई धर्मको रूपमा लागू गर्दै लगियो । यी र यस्ताखालका नियम अर्थात् त्यो बेलाका पाप र धर्मका वाक्यांशहरूले महिलालाई हरेक कुराबाट बञ्चित गराइयो, जसले गर्दा महिलाहरू पुरुषहरूको बासनाकी दासी र सन्तान जन्माउने साधनको रूपमा मात्रै सीमित रहन पुगे ।

नेपाली महिलाको इतिहासमा सबैभन्दा डरलाग्दो अवस्था विधवा प्रथा , सती प्रथा,बोक्सि प्रथा जस्ता धर्म तथा संस्कृतिमा देखिन्छ । यस्तो ज्यानमारा र घृणित प्रथा, जसले महिला जिउदै जलेको देख्दा शुभ हुने, धर्म हुनेजस्ता भ्रामक अन्धविश्वास छरेको पाइन्छ । महिलाहरूलाई लाचार बनाउने धर्म,संस्कारहरू हामीले कति हो कति सुन्न,पढ्न र भोग्न पाएका छौं । भलै आज समाजमा सती प्रथा छैन तर विधवा प्रथाले हुनुपर्नेजस्तो परिवर्तनीय स्वरूप अझै लिएको देखिदैन । यति मात्रै कहाँ हो र ! परापूर्वकालदेखि नै पुरुषप्रधान रहेको नेपाली समाजले महिलालाई शारीरिक रूपमा कमजोर देखाई बाहिरी माहोल र परिवारबाट सामाजिक बन्धनका हिसाबले वा पछिल्लो मध्य-नेपालको कानुनी सभ्यताको विकासयता कानुनीरूपमै पनि विभिन्न क्षेत्रमा सहभागी हुनबाट महिलाहरूलाई रोक लगाइएको गैरन्यायिक इतिहासहरू हाम्रा अगाडि छरपस्ट छन् ।

समाजमा धर्म र संस्कृतिका कारण पनि महिलालाई सहायक भूमिकामा राखी पुरुषहरूलाई प्रमुख बनाएको छ । छोरीलाई वंश सन्तानको रूपमा स्वीकार नगर्नु छोरीले सबै क्षेत्रमा सबै कुरा गर्न नपाउनु, समान सहभागिता र पहुँचबाट बञ्चित गराइनुजस्ता क्रियाकलाप आफैमा नारीप्रतिको यो समाजको घृणित शोषणको रूपमा स्थापित गरिएको छ । जसका कारण हाम्रो समाजले सधैंभरि नारीमाथि अमर्यादित गतिविधिलाई बढावा दिँदै इतिहासको कथित सामाजिक धरातललाई आजको दिनसम्म पनि कायमै राखेको छ । मानव सभ्यताको हरेक युगहरू फेरिंदै गर्दा महिलाहरू आफ्नो हक अधिकारको लागि आवाज उठाउँदै आएका छन् । साथै पुस्तौदेखि परिचालित रहेको महिला हिंसाविरुद्धमा सरकारी तथा गैरसरकारी संस्थाहरू जोडबलका साथ लागेको त देखिन्छ । तर, तिनीहरूको उपलब्धि हेर्दा निराशाजनक नै छ । आजको दिनसम्म आइपुग्दा नेपालको कानुन र संविधानमा पनि महिला हक र अधिकारका लागि कानुन बनेका छन् । तर, तिनको फितलो कार्यान्वयनका कारण समस्या सुल्झिन सकेको छैन । विभिन्न सरकारी रिपोर्ट र प्रतिवेदनहरु मात्र हेर्ने हो भने थाहा हुन्छ कि अझै पनि हाम्रो देशमा महिलाको स्थिति कस्तो छ ?

हाम्रो देशको विभिन्न जाति वर्ग र समुदायमा अझै पनि विभिन्न रूप र स्वरूपहरूमा महिलाहरू हिंसामा परेका छन् । बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपिट, अपहेलना, यातना, तिरस्कार, बोक्सी, जबर्जस्ती करणी, घुम्टो प्रथा, छाउपडी प्रथा, अनमेल विवाह, वादी प्रथा, देउकी प्रथाजस्ता असङ्ख्य आपराधिक प्रथाहरूको सिकार हुनबाट आज पनि महिलाहरू वञ्चित हुन सकेका छैनन् । समाजका यस्ता अमानवीय व्यवहार र प्रचलनहरू महिलाहरूले जन्मजात वा अन्य कारणले पाएको पक्कै पनि होइन, यी भनेका हाम्रै समाजका असमान उपजहरू हुन् । वास्तवमा यी प्रथा र चालचलन भनेका पुरुष केन्द्रित र महिलालाई नियन्त्रित गर्ने अस्त्रबाहेक अरु केही होइन इतिहासको कालखण्ड नियाल्ने हो भने महिलाका योगदानहरू प्रशस्त छन् । तर पनि नेपाली समाजका महिलाहरूको वास्तविक जीवन जस्ताको त्यस्तै छ महिला हिंसाको न्यायिक निराकरण गर्न प्रयासहरू त भए तर प्रयासहरूमा इमानदारिता भने अझै भएको देखिदैन।

महिला आरक्षण र महिला कोटाले मात्रै समस्याको समाधान हुन सक्दैन । यसको पूर्ण निदानको लागि पुरुष, पुरातनवादी मानसिकतामा शुद्धीकरण गर्न सके मात्र समाजमा महिला र पुरुषबिचको समान व्यवहार देख्न सकिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । यो कुरालाई शब्दमा मात्र नभई आफ्नो चिन्तन र व्यवहारमा पनि लागू गरौँ । सभ्य, सुखी र समृद्ध समाज निर्माणमा जुटौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?