हिमाल हाम्रो गौरव हो । तर गौरव सधैं उज्यालोमा मात्र देखिँदैन—कहिलेकाहीँ त्यही गौरवको छायाँभित्र चिच्याइरहेको मौनता लुकेको हुन्छ । समुन्द्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने क्यानजेन भ्याली लाङटाङ हिमाल हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो । लाङटाङ सायद हिमालहरूको त्यो अनुहार हो,जसले सौन्दर्यलाई पनि गम्भीर बनाइदिन्छ।
२०८२ सालको लाङटाङ ट्रेल रनको कभरेजका लागि पत्रकारहरूको टोलीसाथ म पहिलो पटक त्यहाँ पुगेकी थिएँ । शरीरको लागि यो यात्रा थकानको परीक्षा थियो । आत्माको लागि यो गहिरो अवबोधनको यात्रा बन्यो । मैले जुन लाङटाङ हेरेँ, त्यो दृश्यले मलाई भित्र मनदेखि हल्लायो । विछिप्त बनायो । सौन्दर्यको आडमा दबिएका पीडा, मौन समाज,र बेवास्ता गरिएका सम्भावनाका पाटोहरु क्रमभङगता खोजिरहेका छन । म यात्रामा विट मारेर त फर्किएँ तर लाङटाङ क्षेत्रका क्षणहरु मेरो मनमा अझै ताजा छन ।
हाम्रो यात्रालाई काठमाडौंको सामाकोसीबाट रसुवाको स्याफ्रुबेसी सम्म गाडीबाट थियो । त्यसपछि १६ जनाको पत्रकारहरुको समुह, खेलाडी र आयोजक सहितको लगभग ७० जनाको टोली एक अर्काका पाइलाहरु पछ्याउँदै अघि बढ्न थाल्यौ । पाखा भिर, झरना,खोला, हरियाली, अनि घनघोर जङ्गलका बीच उकालो चढ्दै गर्दा लाग्थ्यो म पृथ्वीमा हैन, सपनाको भेगमा छु।
तर त्यो सपना जुनसुकै बेला दुःस्वप्ननमा बदलिन सक्छ भन्ने चिन्ता घरी घरी झल्किन थाल्थ्यो, जब जब त्यहाँको महंगी र हिड्नु पढ्ने उकाला बाटा हरु देखिन्थे ब्याम्बो,लामा होटल, लाङ्टाङ हुँदै गन्तव्य पुग्दासम्म सारा सौन्दर्य भित्रको खोट प्रस्ट हुँदै गयो—अवस्था,पहुँच र अभाव ।
पहिलाे दिन व्याम्बो भन्ने ठाउँमा बास बसेर दोस्रो दिनको खाना खान लामा होटल पुग्दा सम्म हाम्रो टोली थकित थियो। तर स्थानीय बासिन्दाहरूको मौनता हामीभन्दा गहिरो थकानले भरिएको जस्तो लाग्थ्यो । जब हामीले उनीहरूलाई सोध्यौं—”यहाँ सुविधा र बिकास तपाईंका लागि सम्बन्धित निकायले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?” — उत्तर थियो, “हामी केही चाहँदैनौँ सव ठीक छ ।”र उनीहरूले बर्षेनी तिरिरहेको कर के का लागि भन्ने पनि थाहा थिएन । त्यो ‘केही चाहँदैनौं’ मा दबिएका अब्यक्त मागहरु थिएः शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार ।
लामा होटलमा खाना खाई सके पछि हाम्राे टोली फेरि सुस्केरा मार्दै ,यात्राको दोस्रो रात प्राकृतिक सौन्दर्यको मजा लिदै , लाङ्टाङ पुग्ने भनेर अगिबढ्यो त्यो यात्रामा कतिपय साथीहरु अगाडि पुगिसकेका थिए कतिपय पछाडि मलाई भने एकदमै आनन्द महसुस भैरहेको थियो उकालोको थकान पनि तर जव डाँडा मा पुगेर हिमालका धमिला दृश्य देखिन्थे,बादलले आफैलाई छोएर हिँड्दा लाग्थ्यो म पनि यही बादल सङ्गै उडिरहेकी छु ।
ब्याम्बो देखि करिब १२ घण्टा को हिडाइ पछि हामी लाङ्टाङ उपत्यकामा पुग्यौँ । र एउटा होटेलमा पत्रकार टोलीको वस्ने ब्यवस्था थियो,एकै छिनमा खबर आयो त्यहाँ को संस्कारको आधारमा हामिलाई स्वागत कार्यक्रम राखिएको छ खेलाडी र पत्रकार सहीत सब्बै जना त्यहाँ पुग्यौँ भव्य स्वागत, र न्यानो आतिथ्यता का साथ बिभीन्न नाच,गान, कार्यक्रमहरु गरियो । यस्तो लाग्थ्यो त्यहाँका जनताहरू आफैं भित्र रमाइरहेका छन् ।
यात्रा को तेस्रो दिन हामी पुग्यौँ यात्राको गन्तब्य स्थल क्याजिन गुम्बा त्यहाँ म बसेको होटल थियो लिटल होम नाम जस्तै सानो र चिटिक्क,होटल भन्दापनि घरको भाइब आउँने त्यहाँको आतिथ्यता पनि घर जस्तै , बेलुकाको खाना खाँदा होटल साउनी खान्टु तामाङ संग कुराकानी गर्दै थिए काखमा २ वर्षको छोरा च्यापेकी उनले सुनाइन्—“छोरोलाई ४ वर्षमै सहर पठाउनु पर्दछ होस्टेलमा राख्न । उनकाे कुरा सुनेर अचम्म मान्दै प्रश्न गरिहाले! किन? उनले भनिन् उसको भविष्यको लागि,राम्राे शिक्षा दिनको लागि, फेरि मैंले सोधे के यहाँ विध्यालय छैन ? उनको जवाफ थियो स्कूल छ शिक्षक पनि छन् तर पढाउन आउँदैनन् । घरमै बसेर तलब पाकी हाल्छ । अनुगमन छैन अनि कसरी त्यस्तो स्कूल मा आफ्नो बच्चालाई पठाउने । शिक्षकहरू तलब त पाउँछन्, तर जिम्मेवारी निर्वाह गर्दैनन्। विद्यालय भवन छ, विद्यार्थी छैनन् ।
उनकै अर्को पीडा थियो—स्वास्थ्यको । एकजना छिमेकी बिरामी परे। हेलिकप्टर मगाएर डेढ लाख खर्च गरे। हेलिकप्टर आयो, तर मौसमले ल्यान्ड गर्न दिएन। ती व्यक्ति मरे। उनले सुनाइन्।
“यदि यही स्वस्थ्य चौकीमा डाक्टर हुन्थे भने, उनी बाँच्न सक्थेँ होला,” उनले भनिन् । त्यहाँ स्वास्थ्य चौकी त छ—तर सिटामोल बाहेक केही छैन। गर्भवती महिला बिरामी पर्दा काठमाडौँ लैजानुपर्छ। त्यो पनि तीन लाखभन्दा बढी खर्च हेलिकप्टर भाडा मात्रै लाग्छ ।
हामी २०२५ को “लाङटाङ ट्रेल रन” को प्रचारप्रसारमा पनि त्यहाँ गएका थियौँ। लाखौंको बजेट थियो, प्रचारको धूमधाम थियो। तर त्यस प्रचारले लाङटाङको आवाज बोल्न सक्यो कि सकेन यो तपाईं हामी मूल्यांकन गरौं । त्यस दिन मलाई लाग्यो—हामी केवल फोटो खिच्न जान्छौं, रमाइलो गर्न जान्छौं। तर त्यहाँका मान्छेहरूसँग रमाइलो होइन, जीवन जिउने संकट छ । त्यो रात म धेरै बेर सुतिनँ। राति १ बजेसम्म म झ्यालबाट बाहिर हेर्दै सोचिरहेँ—”स्वर्गभित्र कस्तो छायाँ लुकेको रहेछ!”
यदि हामीले सही मञ्चमा आवाज उठायौं भने, यदि हाम्रा अगुवा, नीति निर्माता, नेतृत्व तहले त्यहाँका पीडाका कथा, सुने—भने, र सम्भावनाका आधारहरू नियाले भने, त्यो ठाउँ अझै सुन्दर बन्छ, सहर पढ्न आई बिदेश पलायन भइरहेका त्यहाँका युवाहरुलाई पढेर गाँउ फर्कने आधार बनाउन सकिन्छ । लाङटाङ एउटा पर्यटनको गन्तव्य मात्र होइन, चेतनाको शिखर हो । समृद्धिको आधार हो । त्यहाँबाट फर्किएपछि मैले बुझेँ ।





