शान्ता भण्डारी
जनयुद्ध घोषणा भो
बिद्रोह सशस्त्र को
जनता लामबद्ध भो
प्रतिकार दमनको ।
जनपक्षिय अगुवाहरु
जनताका प्रतिनिधिहरु
समातिन्थे नै दिनहुँ
अचम्म थिएन मारिनु ।
बेपत्ता र घाइतेको
गणना नै कहाँ थियो
उठिवास कति हुन्थ्यो
त्याग्नै घरवास पथ्र्यो ।
लक्का जवान बाइसको
बाइसै पुग्यो बिछोडको
अँधेरी थियो बिहानको
असार तीन एकासिको ।
उडी आयो चिलसरी
राज्यको क्रुर सिपाही
टिपि गयो चल्ला लिई
काख आमाको रित्याई ।
पत्तो आजसम्म छैन
सूचना सुइको छैन
छ कहाँ बोलिदैन
देखाउन मानिदैन ।
रक्षा दायीत्व उसको
किन भक्षक आफै बन्यो
प्रश्न छ राज्यलाई मेरो
मेरो सन्तान कहाँ गयो ?
बिराम के उसको थियो
हरण किन पो गर्यो
भन लुकाइ कहाँ राख्यौ
भन गोप्यमा किन पार्यौ ?
राखेको तिम्ले नै हो
तिम्ले नै लुकाएको
बचाएनि तिमिले हो
मारे जिम्मा नि तिम्रो ?
बन्दी बनाई राखेकै छौ
खाना पेटभरी दिन्छौ
लुगा नि के दिने गर्छौ
कि नागैं राखेकाछौ?
कि लडाएका छौ बाधि
हलचल न हुने गरी
आखामा कालो पट्टी
कानमा ठेडी कोची ।
भएको जे त्यो भन
गरिएको के त्यो भन
राखेको कहाँ हो भन
छोडेको फेहरिस्त भन ।
भन राख्यौ कि जलमा
देखाउ छ कि थलमा
कि टंच्याइ राख्यौ नभमा
न ढाटी सत्य भनन् ।
लिएको काखबाटै थुति
देक्ने आकाश साक्षि
पृथ्वी प्रत्यक्षदर्शी
रोक्न खोज्ने बर्षेझरी ।
आँखाको लाल हाम्रो
संसारमै हाम्रो राम्रो
कठैबरा चिचिलो त्यो
निरिह बेसहारा त्यो ।
ऐया आमै नि पुकार्यो
पुकार ब्यर्थै भयो
गुहार हे चिच्यायो
को त्यहा गुहार दिन्थ्यो ?
थिए पाल्तु राज्यका
हाम्रै नुनले मात्तिएका
बोलि भाषा बन्दुकका
धाक धक्कु सत्ताका ।
सन्तानको सुइको छैन
मुटु चल्छ कि चल्दैन
आफ्नै धडकन याद भएन
आफ्नै खुनको हक रहेन ।
कस्तो कानून सत्ताको
कस्तो न्याय शासकको
के बिवेक राज्यको
के धर्म हो जगतको ?
छ के भनु स्वतन्त्रता
पिरले बाधिएकी म त
भनु भने गणतन्त्र
खै मेरो लोकतन्त्र ?