१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

रविको राजनीतिक छलाङमा : कति नैतिकता ?

पत्रकारिताको पृष्ठभूमिबाट राजनितिमा प्रवेश गरेका रवि लामिछाने हाल दोस्रो पटक देशको उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । पत्रकारितामा छँदा स-साना विषयवस्तु माथि पनि प्रश्न गर्न नछोड्ने तिनै रवि अहिले प्रश्नको जवाफ दिने ठाउँमा छन् । वैकल्पिक राजनीतिको नाम दिँदै चुनाव अघि मात्रै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक राजनीतिक दल दर्ता गरी राजनीतिमा आएका उनी सुरु देखि विवादमा तानिँदै आएका छन् । जसमध्ये मुख्य गरी दुई विषयमा उनी अछुत देखिदैनन् पहिलो नैतिकता र दोस्रो स्वार्थको द्वन्द (कन्फ्लिक्ट अफ इन्टरेष्ट) ।

राजनीतिमा नैतिकता : इथिक्स शब्दको उत्पति ग्रीक भाषाबाट भएको, जसको अर्थ हुन्छ —रीति रिवाज । यसलाई नीतिशास्त्र वा आचारशास्त्र भन्ने गरिएको छ । नैतिकताको विज्ञान अथवा नीतिविज्ञान पनि भनिएको पाईन्छ । ‘मोरालिटी’ शब्दको उत्पति ‘मोरस’ भन्ने शब्दबाट भएको छ । मोरसको अर्थ पनि रीतिरिवाज वा चालचलन भन्ने नै हो । चालचलन वा रीतिरिवाज भनेको मानिसले लामो समयदेखि अपनाउँदै आएको अभ्यासजन्य आचरण पनि हो । मानिसको आचरण ऐच्छिक क्रियाका रुपमा रहेको हुन्छ । इच्छित वा संकल्पित क्रियाहरुको पृथकता समय र संस्कारले मात्र कायम गर्दैन, जातिहरुको सोचाईले पनि गर्दछ । त्यति भएर पनि नीतिविज्ञान वा आचारशास्त्र यस्तै ऐच्छिक क्रियाहरुसगँ सम्बन्धित रहिआएको छ ।

खासगरी नैतिकता भनेको सही र गलतको अर्थपूर्ण औचित्यता पुष्टि गर्ने सचेत चेतना हो । मानिसको स्वविवेकबाट लिइने निर्णय पनि हो नैतिकता । नैतिकता केबल राजनीतिमा मात्र नभई मान्छेको दैनिक व्यवहार जीवनमा पनि उतिकै महत्वपूर्ण विषय हो । राजनीतिमा नैतिकता कुन प्रसंगको कुन विषयलाई भन्ने प्रश्न एउटा बहसको कुरा छ । खासगरी राजनीतिक सौदाबाजीका क्रममा राजनीतिज्ञले लिएका निर्णयलाई किमार्थ राजनीतिक नैतिकताको घेरामा राख्न मिल्दैन । राजनीति गर्ने भनेको देश र जनताप्रति उत्तरदायी भएर हो र राजनीतिज्ञका नैतिकताका प्रसङ्ग देश र जनताप्रतिको समर्पण प्रति लक्षित हुनु अनिवार्य हुन्छं । विषेशगरी राजनीतिक नैतिकता एसियन भन्दा युरोपियन देशहरूमा बढी महत्वका साथ लिने गरेको पाइन्छ यसको मतलब एसियातिर छैन भन्ने होइन ।

विश्व राजनीतिक इतिहास हेर्दा नैतिकताका विषयलाई लिएर धेरैले आफ्नो पदबाट राजीनामा दिएका उदाहरण देख्न पाइन्छ ।पछिल्लो घटना हेर्ने हो भने निवर्तमान बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायत युरोपियन युनियनबाट छुट्टिने कि नछुट्टिने भन्ने विषयमा भएको जनमत संग्रहमा छुट्टिने भन्ने पक्षमा ५२ प्रतिशत मत परेपछि क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा गरे । क्यामरुन छुट्टिनु हुन्न भन्ने पक्षमा थिए । आफ्नो एजेन्डा हारेपछि उनले पदबाट राजीनामा दिएका हुन्। बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् । कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेका ह्यानककले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । कुनै समयमा भारतमा रेल दुर्घटना हुँदा रेलमन्त्री लालबहादुर शास्त्रीले पदबाट दिएको राजीनामा दिएका थिए।

नेपालको सन्दर्भमा पनि हेर्ने हो भने तत्कालीन समयमा सिंहदरबारमा आगो लाग्दा त्यसको नैतिक जिम्मेवारी लिएर कीर्तिनिधि विष्टले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । दशरथ रंगशालामा भागदौड मच्चिएको बेला मूल गेट बन्द भई मान्छे भाग्न नपाएर किचिएर मरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै तत्कालीन शिक्षा तथा खेलकुदमन्त्री केशरबहादुर विष्टले पदबाट राजीनामा दिएका थिए ।

जुल्फिकर अलि भुट्टोलाई फाँसी दिएपछि तातेको विद्यार्थी आन्दोलनमा तत्कालीन शिक्षामन्त्री पशुपति शमशेर राणाले राजीनामा दिएका थिए । यसो त पहिलो संविधान सभा चुनावमा आफ्नो पार्टीले कम सिट ल्याएको र आफू समेत निर्वाचनमा पराजित भएकोमा तत्कालीन एमाले महासचिव माधव नेपालले राजीनामा गरेर जिम्मेवारी स्वीकारेका थिए । सेनापति प्रकरणमा राष्ट्रपतिले सरकारको निर्णय उल्टाइदिएपछि नैतिकताका आधारमा प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका थिए । यद्यपि, उनको त्यतिबेला राजीनामा मागिएको भने थिएन । केहीवर्ष अघि कृषिमन्त्री हरिप्रसाद पराजुलीले रोपाइ काण्ड लागेर राजीनामा दिएका थिए । त्यसको केही समयपछि कानुनमन्त्री शेरबहादुर तामाङले आफूले दिएको अभिव्यक्ति विवादमा आएपछि पदबाट राजीनामा दिई माफी समेत मागे । अडियो काण्ड बाहिरिएपछ तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि राजीनामा गरेका थिए । यद्यपि, यी माथि उल्लेखित राजीनामा कतिपय स्वतःस्फुर्त थिए भने कतिपय आम रुपमा विवादित भई बाध्यकारी रुपमा गरिएका घटना हुन ।

तर देशमा सुशासन र समृद्धिको मुद्दा स्थापित गर्छु भनेर नयाँ आशा र विश्वास बाँड्न राजनीतिमा लागेका रवि लामिछाने भने आफै नैतिकहीनको कित्तामा उभिदै आएका छन् । रविको नागरिकता सम्बन्धी विवाद उनले पत्रकारिता गर्दा बखत नै पत्रकारको नियामक निकाय प्रेस काउन्सिल नेपालले पहिला नै कैफियत देखाएको कुरालाई उनले अनकानी र आलटाल गर्ने कोसिस गरिरहे जसकारण उनी विरुद्ध अदालतमा मुद्दा चलिरहेका बेला न्यायिक निकायलाई सहयोग गर्नुको सट्टा आफ्नै मातहत अनुसन्धान हुने गृहमन्त्रालयको नेतृत्वमा गए रवि । आफूलाई निर्दोष जिकिर गर्ने रवि बरु उनीबारे सञ्चार माध्ययममा आएका समाचार सामग्रीको विषयलाई लिएर पत्रकार सम्मेलन गरी भण्डाफोर गर्ने अभियानमा लागे । मिडिया जगतका पनि आफनै समस्या त होलान् तर रविको त्यो १२ भाई वाला आक्रोश विद्रोही भाव भन्दा पनि कुण्ठाको पोको थियो ।

रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको भन्दै सर्वोच्च अदालतले गरेको फैसलाले सांसद, गृहमन्त्री र सभापति तिनै पद गुमाउन पुगेका उनले लाजै नमानी आफूलाई निर्दोष भनिरहे जनतालाई भनिरहे आफू माथि षडयन्त्र भयो भनेर । ३२ दिनमै गृहमन्त्री पद गुमाएका रवि तिनै व्यक्ति हुन् जो आफू पत्रकार हुँदा अरूका माथि नैतिकताका प्रश्न उठाउँथे तर आफूले भने असामान्य राजनीतिक जीवनमा सामान्य नैतिकता पनि देखाएनन । तर यो राजनीतिमा नैतिकता अलि फरक हुन्छं आफ्नो पक्षमा मत हुँदा नैतिक तर आफू विपक्षमा हुँदा सही कुरा पनि अनैतिक ? यो भास्य निर्माण भएको पाइन्छ । सबैका आआफ्ना विचार छन् जो तिनकै मात्र सही छन् भन्या जस्तै ।

हालै प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाए पछि फेरि दोस्रो पटक सर्त सहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि सरकारमा गएका छन् । यसपटक पनि उनले गृहमन्त्रालय पाए मात्रै सरकारमा जाने अडान लिए पछि एमाले – माओवादी लगायतको गठबन्धनले उनलाई फेरि गृहमन्त्रालय सहित ४ मन्त्रालय दिएर शक्ति सन्तुलन मिलाएका छन ।

तर उता सिआईबीले भने रवि लामिछाने विरुद्धको सहकारी ठगीको विषयमा अनुसन्धान थालेको छ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । जीवि राई अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा सूर्यदर्शन सहकारीको रकम लगानी गरिएको थियो। ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्दा रवि प्रबन्ध निर्देशक थिए। सोही आधारमा उनीमाथि पनि छानबिनको माग राखेर पीडितहरूले उजुरी दिएपछि प्रहरी अनुसन्धान प्रक्रियामा छ । यसैबीच रवि लामिछाने फेरि गृहमन्त्री भएपछि उनको आलोचना सुरु भएको छ । बाहिर बसेर अनुसन्धानमा सघाउनुपर्नेमा रवि नै गठबन्धन अडान सहित गृहमन्त्री भएपछि अनुसन्धान प्रभावित हुने आशंका धेरैको छ सँगसँगै यो उनीमाथिको नैतिक प्रश्न पनि हो ।

टेलिभिजनमा लगानीकर्ता रहेका रविका साझेदार जिवि राई विरुद्ध र आफै माथिको आरोप विरुद्ध कसरी अनुसन्धान अघि बढ्ला त्यो त हेर्नु बाँकी छ । तर यस अघि कांग्रेस, माओवादी , एकीकृत समाजवादी सहितको सत्ता गठबन्धन हुँदा घटेको बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भयो त्यसमा आरोपितले मन्त्रीहरुले राजीनामा दिनुपर्ने माग रवि त्यो बेला सत्ता बाहिर थिए तर हाल उनी आफै मुछिएको विवाद हेर्ने मन्त्रालयको नेतृत्वमा छन् । आफू हुँदा सबै ठीक अरु हुँदा सबै बेठीक भन्ने नियत नै राजनीतिमा नैतिकताको विरोधाभास पूर्ण कुव्याख्या हो ।

स्वार्थको द्वन्द “कुनै स्वार्थ भएको अबस्था”हो । व्यवस्थापकीय वा निर्णय गर्ने सार्वजनिक ठाउँमा बसेको पधाधिकारी वा अधिकार प्राप्त अधिकारी व्यक्तिगत वा सामूहिक स्वार्थ सिद्ध गर्ने किसिमले क्रियाकलापमा सहभागी हुनु स्वार्थको द्वन्द्वको रुपमा हेरिन्छ । स्वार्थको द्वन्द्वका कारण नीतिगत निर्णयमा प्रभाव पार्ने गर्दछन । राज्यसत्ताको नीति निर्माण गर्ने तहमा निष्पक्ष रुपमा सहभागी हुनुलाई स्वार्थको द्वन्द नभएको हुनु अनिवार्य हुन्छं । यदि स्वार्थको द्वन्द विद्यमान भएमा निष्पक्ष निर्णयमा पुग्न नसकिने कुराको परिकल्पना लोकतन्त्रले गर्छ । नेपालमा भने स्वार्थको द्वन्दलाई खासै महत्वका साथ हेरिँदैन । सरकार देखि संस्थासम्म हरेक निकायमा स्वार्थ बाझिने व्यक्तिहरूको उपस्थिति त्यतिकै छ । यसैबीचमा प्रचण्डको सरकार बनेदेखि स्वार्थको द्वन्द्वबारे बहस उठेको थियो ।

त्यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अमेरिकी नागरिकता र पासपोर्टसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो त्यति बेला पनि विवादका बीच उनी अघिल्लो पटक गृहमन्त्री बने । र अहिले पनि लामिछानेका राहदानी दुरुपयोग सम्बन्धी मुद्धा अदालतमा विचाराधीन छ । सहकारी ठगी सम्बन्धी तथा सम्पत्ति शुद्दिकरण सम्बन्धी विषय अनुसन्धानको चरणमा छन् । सिआईबीले यस विषयमा छानबिन गरिरहेको छ। गृह मन्त्रालय मातहत छानबिन गरिरहेका व्यक्तिलाई उपप्रधान तथा गृहमन्त्री बन्नु स्पष्ट रुपमा स्वार्थको द्वन्द्व सिर्जना हुनु हो । यो स्थितिमा वैकल्पिक राजनीतिको नाम दिने रवि लामिछानेले अडान सहित त्यही मन्त्रालय चाहिन्छ भनेर सरकारमा जानु नपर्ने हो र जिम्मेवारी दिने निकायले पनि यस ध्यान दिनुपर्ने हो तर त्यो गम्भीरता सरकारमा पनि देखिएन ।अहिले हाम्रो कानून बनाउने ठाउँमा शिक्षा , स्वास्थ्य , व्यापार लगायत क्षेत्रका लगानीकर्ता तथा व्यवसायीको उपस्थिति छ यो पनि स्वार्थ बाझिने कुरा हो । घटनाक्रमले रबिलाई प्रतिनिधि पात्रको रुपमा लिए पनि यो नेपालको आम समस्या हो ।

अन्तराष्ट्रिय राजनीतिक जगतमा स्वार्थको द्वन्द्वलाई कानून बनाएर नै नियमनका प्रयास भएका छन् । गलत प्रवृत्तिलाई नियन्त्रण गर्ने अभिप्रायले सबैभन्दा पहिले अमेरिकामा सन् २००६ मा इमान्दार नेतृत्व र खुला सरकारसम्बन्धी नयाँ ऐन जारी गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइयो। सन् २००६ मै क्यानडाले स्वार्थको संघर्षसम्बन्धी आधुनिक ऐन जारी गर्‍यो। युरोपियन युनियनमा सन् २००७ देखि यसको नियन्त्रणमा कानुनी व्यवस्था गर्न थालियो।

कोभिड संक्रमणको समयमा खोपका बारेमा सुझाव दिन गठित कार्यदलका १२ सदस्यले स्वार्थ बाझिने गरी कार्य गर्न असमर्थ रहेको जानकारी गराएको सन्दर्भ क्यानडामा ताजै छ। जापान सरकारले तत्कालीन अमेरिकी विदेशमन्त्री पोम्पेओलाई ५८ सय मूल्य पर्ने ह्विस्की उपहार दिएकोमा सो बोतल हरायो। उक्त सन्दर्भले सञ्चारमाध्यममा ठूलो स्थान पायो। भारतमा व्यवसायीले बैंक तथा वित्तीय संस्था खोल्न नपाउने कानुनी व्यवस्था छ। विकसित देशहरूमा स्वार्थको द्वन्द्वलाई नियन्त्रण गर्न कानुनी व्यवस्थामात्र होइन, स्थायी नियमनकारी निकायहरूको व्यवस्था गरिएको छ।

नेपालले सन् २०११ मा हस्ताक्षर गरेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिमा पनि यी विषय छन् । महासन्धिले सार्वजनिक मात्रै होइन, निजी क्षेत्रमा पनि स्वार्थको द्वन्द्व हुनुहुन्न भनेको छ । यसलाई कार्यान्वयन गर्न ०६९ मा कार्ययोजना तथा रणनीति बनाइए पनि स्वार्थको द्वन्द्वबारे अझै स्पष्ट कानुनी व्यवस्था भने छैन । समग्रमा यो विषयको दिर्घकालिन समाधान दिनका लागि विधायिकाले स्पष्ट कानून निर्माण ढिलाइ गर्नु हुँदैन ।

अन्त्यमा : वर्तमान समयमा नेपाली राजनीति अविश्वसनीय , निरासा र अस्थिरता, दण्डहीनता , अनैतिकताको दुष्चक्रमा छ । यसैबीच नेपाली जनताले देशको सतही मापनबाट होइन गहिराइबाट समस्याको पहिचान गरी तिनको दिर्घकालिन निकास खोजेका छन् । नेपाली राजनीतिको विगतका केही वर्ष यताका श्रृङ्खलाको क्रमभङ्गता चाहेका छन् । थोरभौत यो मर्मलाई पूरा गर्छु भनेर राजनीतिमा आएका पात्र रवि पनि हुन । पुराना दललाई गाली गरेर राजनीतिमा आएका उनले स्वाभाविक ढंगबाट पुराना प्रवृत्ति त्याग्न पर्नेमा त्यो भन्दा अपवित्र यात्रा अंगाल्नुले जनतामा आशाको सञ्चार छैन, भलै केही भीड उनका पछि छ । देशको राजनीतिक प्रणालीका दोषलाई व्यक्तिमा पोखेको रविको आक्रोश गलत छ । तर पुराना व्यक्ति र पार्टी भन्दा रविले केहि गर्छ भनेर जनताले मत स्थानान्तरण गरेको साँचो हो । कम्तीमा देशलाई केही राम्रो गर्छु भनेर आएका रविले पारदर्शिता, इमान्दारिता र नैतिकताको राजनीतिमा उभिए हुन्थ्यो कि ?

– हिमालय टाइम्सबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?