९ असार २०८१, आइतवार
९ असार २०८१, आइतवार

दलाल पूँजीवाद हाम्रो सारा समस्याको केन्द्र हो : प्रकाण्ड

देशको विद्यमान परिस्थिति, संभावना र चुनौतिबारे यहाँ विभिन्न ढंगले बहस र सम्वाद भैरहेको छ। विचार व्यक्त गर्ने बक्ताहरूले अब कम्युनिस्टहरूले अलिकति नयाँ ढंगले सोच्नुपर्छ पनि भन्नु भएको छ। फेरी नयाँढंगले सोच्दा कतै गलत ठाउँमा गइन्छ कि भनेर चिन्ता पनि ब्यक्त गर्नु भएको छ। त्यो स्वभाविक पनि छ, किन कि नयाँ ढंगले सोच्ने नाममा विगत‌मा कम्युनिस्ट आन्दोलनमा गम्भिर गल्ती र समस्या पनि पैदा भएका छन्। नेपालको कम्युनिस्ट आन्दोलनमा पनि नयाँ गर्छौं भन्ने नाममा डर लाग्दो खाडलमा फसेको तीतो अनुभव पनि छ। तर पनि यतिबेला हामीले नयाँ ढंगले सोच्नैपर्छ। सोच्ने तरिका र व्यवहारमा पनि नयाँपन जरूरी छ।

हामीले अहिले जुन विषयमा बहस गरिरहेका छौं यो भनेको नयाँ कुरा पत्ता लगाउने, अनुसन्धान गर्ने र सत्यको बारेमा निष्कर्ष निकाल्ने एउटा तरिका पनि हो । अथवा यो सहि र गलत के हो भन्ने कुरा छुट्‌याउने कसी पनि हो। बहसमा उठान भएका विचार र तर्कहरु कतिपय ग्रहणीय छन्, कतिपय मनानीय र कतिपय तर्कहरु विमर्श गर्न लायकका पनि छन्।

अन्तरक्रियाको आजको जुन विषय छ, यो कुनै एउटा पाटो मात्रै भन्दा पनि समग्रतामा आधारित छ। देशको आजको संकट र समाधानका विषयमा कुराकानी गर्ने भनेको आफैमा समग्र विषय हो। यो आफैमा ठुलो विषय हो । यस विषयमा विचार व्यक्त गर्ने सबै साथीहरूमा एउटा विषयमा समानता छ।त्यो भनेको देश इतिहास‌मै सर्वाधित संकटमा छ भन्ने कुरा हो। यो सहि कुरा हो । यो कुरा त अहिले राजनीतिक विश्लेषक र विज्ञहरूले मात्रै होइन सामान्य नागरिकहरुले पनि भन्न थालेका छन्। देशको आजको अवस्था नागरिक‌को जीवनमा व्यक्त भइरहेकोले पनि सबैले देश संकटमा छ भनिरहेका छन। देश संकटपूर्ण अवस्थामा छ भन्ने कुरा अब सबैले स्वीकार्ने स्थिति छ।यो आम सहमतिको बिषय जस्तो भयो।

तर अब हामीले देशमा किन संकट उत्पन्न भयो र यस‌को सहि उपचार के हुनसक्छ भन्ने निचोड निकाल्नु राष्ट्रिय राजनीति र देशका लागि जरुरी सवाल हो। देश र समाजका लागि निरन्तर संघर्ष र योगदान गरिरहेका पार्टीका नेताहरुको लागि यो जरुरी छ। यसबारेमा देशका सबै अर्थशास्त्री,सामाजिक, कार्यकर्ता, बुद्धिजीबि र देश‌लाई माया गर्नेहरूले गम्भिर ढंगले सोच्ने बेला आएको छ।

देशको परिस्थितिलाई हामीले वस्तुगत रूपमा हेर्नुपर्छ। मान्छेको मनोगत चाहना र इच्छाले मात्रै देश चल्न सक्दैन। अहिलेको विश्वको चरित्र हेर्यौ भनेपनि विगत‌मा प्रतिस्पर्धात्मक अवस्थामा रहेको शक्ति समिकरण अहिले दुश्मनीपूर्ण अवस्थामा बदलिन खोज्दैछ। युक्रेन-रुस, प्लेस्टाइन – इजरायल र इरान -पाकिस्तान युद्दसम्म आउँदा त्यो स्थिति थप स्पष्ट भएको छ। यो कुरालाई पनि हामीले ध्यान दिनैपर्छ। अर्कोतिर हामीले देशभित्रको परिस्थिति र अन्तरबिरोधलाई पनि वस्तुसंगत रूपमा हेर्नुपर्छ। हाम्रा बनिबनाउ धारणाबाट हेरेर हुँदैन। हामीले पहिले जे भनिरहेका थियौ परिस्थितिको विश्लेषणका सन्दर्भमा, अब पनि त्यहि भनिरहनुपर्छ भन्ने होइन। त्यसरी सोच्ने कुरा मार्क्सवाद पनि होइन। हामीले अहिलेको राजनीतिक, आर्थिक, सामाजिक, राष्ट्रियता र विकास प्रक्रियाका आधारमा हेर्नुपर्छ र धारणा बनाउनुपर्छ। यी सबै क्षेत्र र हाम्रा सूचकांकको आधारमा हेर्ने हो भने देश संकट र नकारात्मक ठाउँमा छ भन्न सकिन्छ।

युरोपमा जतिबेला पुँजीवादको जन्म भयो र त्यो हुर्कियो, त्यतिबेला मुख्य रूपमा पूँजीवाद सामन्तकदसँग लडेर अगाडि आएको थियो । त्यो तत्कालिन अवस्थामा प्रगतिशील पनि थियो। पँजीबादको तत्कालीन प्रगतिशील-चरित्रले नै त्यसले युरोप र विश्वमा प्रभुत्व जमाउन सकेको हो। प्रभाव पार्न सकेको हो। तर नेपालमा त पुंजिवाद पनि कक्टेल प्रकारको भयो । ओर्जिनल बुर्जुवा समेत हुन सकेन। नेपालमा पुँजीवाद सत्ता र कुर्सीको खेल गर्ने र जसबाट आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न साधन बन्यो। चाहे त्यो काङग्रेसको नाममा होस् वा कम्युनिस्टको नाममा भएपनि । यसो हुनुमा कांग्रेसको बढी दोष छ। काग्रेस प्रगतिशील हुन सकेन। कम्युनिष्टहरू पनि कम्युनिष्ट जस्ता हुन् सकेनन्। यदि कोहि सच्चा कम्युनिस्ट हुने बित्तिकै त त्यो कान्तिकारी तथा जनताको पक्षधर भैहाल्छ। यहाँ त लोकतन्त्रवादी भन्नेहरू पनि बद्‌नाम र हामी कम्युनिस्ट भन्नेहरू पनि बदनाम भयौ। अझ पछिल्लो समय‌मा त झन् राजनीति भनेकै सत्ता र स्वार्थका लागि हो भने बुझिदैछ। सत्ता र स्वार्थका लागि देशलाई दाउ हान्ने, विदेशीहरुसँग सौदाबाजी गर्ने प्रवृत्ति बढ्‌‌दै गएको छ। सत्तामा पुगिसकेपछि राजनीति शक्तिको दुरुपयोग गर्ने प्रवृति छ। संसदीय राजनीतिमा यो समस्या छ तर सबै राजनीति व्यवस्थामा यस्तै हुन्छ भन्ने होइन भनेर विषयलाई हामीले स्पष्ट पार्नुपर्छ।

नेपालमा संसदीय राजनीति देश र जनता विरुद्ध क्राइम गर्ने ठाउँमा परिणत भयो । जसको मारमा जनता र देश परिरहेको छ। वैचारिक रूपमा पनि संसदीय राजनीतिमा निकै ठूलो विचलन देखिदैछ। हुनतः अक्टोबर कान्तिको समयमा लेलिनसमेत संसदमा जानुभएको थियो। संसद्मा जाने बितिकै संसदवादी भैहाल्ने र नजाँदैमा क्रान्तिकारी पनि भइदैन । लेनिन क्रान्तिका निम्ति दुमामा गएकोले उनि संसदवादी भएनन। नेपालका कम्युनिस्टहरू आफ्नो जनवाद र समाजवादको उद्देश्य छोडेर संसदवादमा गएपछि उनीहरु बदनाम छन्। एमालेले सबैभन्दा बढी त्रुटी गरेको ठाउँ नै त्यो हो ।०६२/०६३ पछि माओवादीले गरेको कमजोरी पनि त्यहि नै हो।

जब कम्युनिष्ट पार्टीमा बहस हुन्छ , सहि र गलतका बीचमा बहस हुन्छ, यस्तो वेला सचेत मानिसहरुले मात्रै के सहि र के गलत भनेर छुट्‌याउँछन् तर आम मान्छेहरुलाई के सहि र के गलत भन्ने छुट्‌याउन गाह्रो हुन्छ । गणतन्त्र पछि भएका राजनीतिक बहस‌मा के सहि थियो र के त्रुटी थियो भन्ने कुरा एकपटक फेरी छर्लङ भएको छ। आफ्नो राजनीति छोड्ने र बुर्जुवा राजनीतिमा जाने कुरा नै नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य त्रुटी पनि हो। यो नै प्रमुख समस्या पनि हो ।
०६२/०६३ सालमा नै नेपालमा श्रमिक वर्ग पहिलो पटक शक्तिशाली भएको थियो। यसको अर्थ नेपालको कम्युनिष्ट आन्दोलन शक्तिशाली थियो भन्न हो। नेपालका इमानदार क्रान्तिकारीहरु शक्तिशाली थिए भन्ने हो । त्यो वेला ठिक ढंगले सोचेको भए के हुन्थ्यो ?देशका अगाडि अहिलेका समस्याहरु आउने थिएनन। त्यो बेला जनताले जे भन्यो, त्यहि हुने अवस्था थियो । त्यो बेला काङ्ग्रेसले पनि आफुलाई समिक्षा गर्नुपर्ने परिस्थिति बनेको थियो । अरु राजनितिक शक्तिहरुले पनि आफुलाई रिभ्यू गर्नुपर्ने स्थिति बनेको थियो त्यो बेला । अहिले त काङ्ग्रेसहरुले नै कम्युनिष्टहरुलाई रिभ्यू गर्न लगाउँलान जस्तो वातावरण भयो । स्थिति एउटै ठाउँमा नरहँदो रहेछ ।

नेपालमा हामीले एउटा युगको अन्त्य गरेकै हो । यद्यपी त्यो रातारात भएको थिएन । त्यसमा राणाविरोधी आन्दोलन देखी जनताको त्याग, संघर्ष र बलिदानको लामो इतिहास र प्रक्रिया छ । त्यो त उत्कर्षमा गएको स्थिति मात्रै थियो । त्यसमा प्रगतिशील लोकतन्त्रवादीहरु देखी कम्युनिष्टहरुले गरेका संघर्षहरुलाई पनि जोडेर हेर्नुपर्छ । त्यति मात्र होइन मजदुर, किसान, मध्यमवर्ग र देशभक्तहरुले गरेको संघर्षको परिणाम पनि हो०६२/०६३ को आन्दोलन । यसमा नेपालका कम्युनिष्टहरु र माओवादीहरुले समिक्षा गर्नुपर्ने कुरा के हो भने त्यो बेला जनतालाई सत्तासिन बनाउन सकियन । त्यो संभावना प्रवल नै थियो । त्यो बेला जनतालाई सत्तामा ल्याएर देशलाई मुक्त गर्ने संभावना थियो । यदि यस विरुद षड्यन्त्र भए जनतालाई विद्रोहको अपिल गर्न सकिने स्थिति थियो । यसबारे गम्भिर समिक्षा जरुरी छ ।

हामीले विगतमा लडाई लड्दा एकातिर सामन्तवाद र राजतन्त्र थियो भने अर्कोतिर संसदीय प्रतिक्रियावाद थियो । हामी ती दुवैका विरुद लडेका थियौँ । राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद लडेका थियौँ । तर प्रणाली जनताको बनाउन सकियन । त्रुटी नै के भयो भने जनता सत्तासिन भएन बरु अर्को वर्ग शक्तिमा आयो । यस्तो वर्ग सत्तामा आयो कि रातारात दलाल वर्ग शक्तिशाली हुने स्थिति भएर गयो । मार्क्सवाद वा समाज विज्ञानमा राजनैतिक रुपमा कसरी लामो समयसम्म दुइटा बाटो हुनसक्छ ? राजनितिमा कि त वुर्जुवा लाइन हुन्छ, कि त श्रमिक वर्गको लाइन हुन्छ । कि सत्ता वुर्जुवाको हुन्छ कि त श्रमिक जनताको सत्ता हुन्छ । वीचमा कुनै यस्तो संयुक्त सत्ता भएछ भने पनि त्यो संक्रमणकालीन मात्रै हुन्छ ।

लेनिनले त समाजवाद नै संक्रमणकालीन व्यवस्था हो भनेका थिए । त्यहाँ पूँजीपति वर्गले जित्ने कि सर्वहारा वर्गले जित्ने कुराको फैसला भएको हुँदैन समेत भनेका थिए । माओले समेत नयाँ जनवाद संक्रमणकालीन हुन्छ समाजवादमा जानका लागि भन्नु भएको थियो ।

हामीले ०४६ वरिपरि पनि संसदीय व्यवस्था जनविरोधी व्यवस्था हो भनेकै थियौँ । त्यो कुरा अहिले पनि सत्य हो । राजतन्त्र हटेर त्यसपछि आएको संसदीय लोकतन्त्रलाई डेन्टिङपेन्टीङ गर्दैमा हुनेवाला थिएन । संसदीय व्यवस्थाले प्रतिनिधित्व दलाल पूँजीवादको गरेको थियो । यसले नेपालका श्रमिक जनता, सामाजिक रुपमा विभेदमा परेका सामूदायको प्रतिनिधित्व गरेको थिएन । यसले देशको पनि प्रतिनिधित्व गरेको थिएन। यसको चरित्र नै देशविरोधी र जनविरोधी भयो । भन्न खोजेको कुरा के हो भने अहिलेको समस्याको मुख्य स्रोत नै यो राज्यसत्ता हो । संसदीय व्यवस्था र सत्तासिन दलाल पूँजीपति वर्ग नै समस्या हो, त्यसैले अब समस्याको समाधान गर्ने भनेको नै यो सत्ताको अन्त्य गर्नु हो ।

मार्क्सवादी दर्शन अनुसार पनि वस्तुले चेतना बनाउने हुन्छ । आन्दोलनको कुन तह/स्तरमा छौँ भन्ने आधारमा नै कम्युनिस्ट पार्टी र नेताहरुले आफ्नो सोच बनाउने कुरा हुन्छ । किन कि डे-टु डे नै उनिहरुले त्यो स्तरमा टक्राउनु परिरहेको हुन्छ । उसको संघर्ष त्यहा परिरहेको हुन्छ । त्यसलाई क्रस गर्ने, विचार, योजना, नीति र पार्टी आवश्यक हुन्छ । यदि तपाई सशस्त्र ढंगले अगाडि बढ्न चाहनु हुन्छ भने संघर्ष गर्ने फोर्स चाहिन्छ । यदि जनसंघर्ष हो भने सडकमा आउने जनता चाहिन्छ । होइन बौद्धिक विलास मात्रै गर्ने हो भने केहि मान्छे मात्रै भएपनि हुन्छ । उसले जे गरेपनि हुन्छ । एक्लै हिडेपनि हुन्छ ।

नेपालको अर्थतन्त्रको चरित्र राष्ट्रिय छैन । राष्ट्रिय हुने भनेको आत्मनिर्भर हुने कुरा हो । हाम्रो अर्थतन्त्रको विशेषता प्रोडक्ट गर्ने खालको छैन । यसको विशेषता व्यापार गर्ने मात्रै छ । समस्या त्यहाँ छ । सरकारका कर्मचारीहरुले समेत हाम्रो अर्थतन्त्र अफ्ढयारो स्थितिमा छ भन्छन । यसको चरित्र दलाल छ । यो आयातमुखी छ । कर्पोरेट पूँजीवादले उत्पादन गरेको माल स्वदेशमा भित्राएर त्यसबाट केहि प्रतिशत खाएर सत्तासिन हुने र उनिहरुकै वकालन गर्ने पूँजीवाद छ नेपालमा । सामाजिक रुपमा पनि कोहि सुरक्षित छैन । परिणाम के भयो भने देशमा नागरिकहरुले आफ्नो भविष्य नदेख्ने स्थिति आयो। यसको जिम्मेवारी कसले लिनुपर्छ ? राज्य र राज्यका सञ्चालकहरु जिम्मेवार हुनु पर्दैन ? उनिहरु जिम्मेवार हुनैपर्छ । यसको समाधान कसरी गर्ने साझा दृष्टिकोण जरुरी छ । जबसम्म दलाल पूँजीवाद र यसको प्रणाली रहन्छ तबसम्म समस्याको समाधान होइन कि अझ डरलाग्दा समस्याहरु पैदा हुनेछन् ।

युक्रेन आफैमा विकसित देश हो । आर्थिक सूचकहरु/विकासको स्तर राम्रै भएको देश हो । अहिले उसका उत्पादनका केहि केन्द्रहरु छन् । त्यसलाई रसियाले आफ्नो नियन्त्रणमा लिइसकेको छ । ९० को दशकपछिको अमेरिकी धुव्र र पछिल्लो विश्व शक्तिसन्तुलनमा आइरहेको हेरफेर पछिको परिणामका कारण उत्पन्न स्थिति हेर्दा नेपालको स्थिति के हुँदै छ, कता जादैछ विचार गर्नुपर्ने बेलाआएको छ । हामीले यो विषयमा ध्यान दिन सकेनौ भने नेपाल दक्षिण एशियाको युक्रेन बनाइदैछ । त्यसका लागि एमसिसी हो, त्यसेका लागि इण्डो प्यासिरिफक स्ट्राटेजी बनाइएको हो । किनकी अहिलेको विश्वका नयाँ शक्ति र पुराना शक्तिहरुको टसलले त्यो परिस्थिति बन्दैछ । नेपाललाई अमेरिका वा चीन कसको नियन्त्रणमा राख्ने भन्ने दाउपेच चलिरहेको छ । जेलेन्स्कीले यहि कुरा नजान्दा युक्रेन यो हालत पुगेको हो। नेपालमा पनि शासकहरुले यो कुरा समयमै विचार नगर्ने हो भने युक्रेनको स्थिति हुनेछ । देश र जनतालाई यो खतराबाट बचाउन नेपालका कम्युनिस्टहरुले पहल लिनुपर्छ ।

दलाल पूँजीवाद हाम्रो सारा समस्याको केन्द्र हो । यो निकै नाङ्गीयको पनि छ। लेनिनले एकपटक कस्तो वेला देशमा विद्रोह हुन्छ र सत्ता पल्टीन्छ भन्ने कुराको विश्लेषण गर्दै शासकहरु पुरानै ढंगले सत्ता सञ्चालन गर्न असमर्थ हुनु र जनताहरु उनीहरुको शासनमा वस्न नसक्नु/ असर्मथ हुनु वा यी दुई परिस्थिति हुनु नै बिद्रोहको बस्तुगत आधार हुन्छ भनेका थिए । नेपालमा अहिले त्यस्तै स्थिति छ । अर्कोतिर संकट पनि डरलाग्दो छ । यसको समाधानका निम्ती हामीले अहिले सोच्ने बेला आएको छ । हामी कम्युनिस्टले सोच्ने, डिस्कर्ष गर्ने र निष्कर्ष निकाल्ने त्यहाँ हो । यसमा थप छलफल पनि गर्दै जाऊ भन्ने हो ।

यस्तो बेला कम्युनिस्टहरु, प्रगतिशील लोकतन्त्रवादी र देशभक्तहरुले ठिक ढंगले सोच्न सकेनन् भने देशलाई खतराबाट बचाउन सकिन्न । अहिले विद्यमान व्यवस्था ठिक छ भनेर शासकहरुले पनि वकालत गर्न सक्ने स्थिति छैन । काङ्ग्रेसकै मानिहरुसँग छलफल गर्दा समेत समस्या गम्भिर छन् भनेर उहाँहरु स्वीकार्नु हुन्छ । ऐमाले नेताहरु पनि त्यो कुरा भन्नु हुन्छ । त्यसैले साम्राज्यवाद र दलाल पूँजीवादले पनि आफ्नो स्थितिमा केहि न केहि सुधार नगरी नहुन्ने आवश्यकता छ । उनिहरुको रक्षाको निम्ति पनि त्यसो गर्नु अनिवार्य छ, यो संकट हो उनीहरुको ।

साम्राज्यवादलाई अहिले नेपालमा नयाँ-नयाँ दलाल चाहिएको छ । अन्य पुराना पार्टीहरु मार्फत अब काम चल्न असंभव ठानेपछि उसले ती पार्टी बाहेक अरुलाई पनि उनिहरुले प्रयोग गर्दै आएका छन् । हाम्रा विरुद्धका पटक-पटकका फण्डा, हल्ला र षड्यन्त्रले पनि तथ्यहरुलाई सावित गरि नै रहेको छ । हामी साम्राज्यवादको षड्यन्त्रलाई परास्त गरि छाड्छौँ । किन कि हामी जनताका प्रतिनिधि हौँ । हामी देशका सच्चा प्रनितिधि हौँ । देशको रक्षा गर्नु हाम्रो दायित्वभित्र पर्छ । हामी जुन क्लासका प्रतिनिधी हौँ, त्यसका सिमा ,आवश्यकता र अनिवार्यताहरु के-के छन्, त्यो हामी बुझ्छौ । त्यसकारण नै लेनिनले जनतालाई कम्युनिस्ट पार्टी चाहिन्छ भन्नु भएको थियो । जनता विरुद्ध षड्यन्त्र भैरहेको बेला त्यसलाई बुझ्ने र सामना गर्ने असली कम्युनिस्ट पार्टी चाहिन्छ ।

यस्तो वेला कम्युनिस्टहरुले अझ क्रान्तिकारी कम्यूनिष्टहरुले नयाँ ढंगले सोच्नुपर्छ । कम्युनिस्ट आन्दोलनमा दुश्मनलाई दुश्मन नदेख्ने बरु मित्रहरु/ भाइचारालाई दुश्मन देख्ने कुरा डरलाग्दो समस्या हो । हामी यो प्रवृतिको रुपान्तरण चाहान्छौँ । कम्युनिस्टहरुलाई कम्युनिस्टले नै दुश्मन देख्ने कुरा मार्क्सवादी प्रवृति पनि होइन । तर कम्युनिस्टहरुका विचारमा भिन्नताहरु हुन सक्छन्, त्यहाँ वहसका विषय हुन सक्छन, राजनीतिक लाइनमा अन्तरहरु हुनसक्छन् । तर त्यो दुश्मन होइन । विश्व कम्यूनिष्ट आन्दोलन र नेपालमा पनि पार्टी भित्रका बहसहरु विचार केन्द्रित भन्दा पनि पद केन्द्रित र प्रतिस्ठा केन्द्रित भयो । त्यसैको आधारमा फुट र विभाजन आउन थालेपछि कम्युनिस्ट पार्टीहरु विचको संघर्ष त गैरराजनीतिक प्रकारको हुने भैहाल्यो । आग्रह, पूर्वाग्रह र वदलाभावको सिकार भयो नेपालको कम्यूनिष्ट आन्दोलन। त्यसकारण सर्वप्रथम त कम्युनिष्टहरु भनेका आफ्नै मान्छेहरु हुन भन्ने दृष्टिकोण बनाउन पर्‍यो। दृष्टिकोण बदल्न पर्यो । अनि कति सहकार्य गर्न सकिन्छ-सकिन्न बहस गरौँ । सहकार्य गर्न नसक्दैमा अर्कोलाई दुश्मनको भित्तामा किन धकेल्ने ? यो प्रवृत्तिका बारेमा कम्युनिस्टहरुले सोच्नैपर्छ । समस्या समाधान र देशका विद्यमान चुनौतिको सामना गर्न कम्युनिस्ट पार्टीहरुले नै पहल लिनुपर्छ ।

हामीले स्पष्ट गर्नुपर्ने विषय अर्को के छ भने नेपालमा जसलाई वुर्जुवा भनिरहेका छौ । उनिहरु भित्र पनि कमप्राडर वुर्जुवा र डेमोक्रोटिक वुर्जुवावीच फरक छुट्याउन जरुरी छ । यसलाई अब सोलोडोलो रुपमा एउटै प्रकारले बुझनु हुँदैन ।डेमोक्रेटिक वुर्जुवासँग सहकार्य गर्नुपर्छ । माओले जापानी साम्राज्यवाद विरुद च्याङकाइ शेकसँग संयुक्त मोर्चा गरेको विषयलाई पनि स्मरण गर्नुपर्छ । देश बचाउनका निम्ति माओले त्यसो गरेका थिए ।

विगतका हाम्रो राष्ट्रियताका कैयौँ क्षेत्रमा भारतियहरुको हस्तक्षेप थियो र छ । कोसी, गण्डकि,अपरकणर्ली उनीहरुकै नियन्त्रणमा छन् । सिमा समस्या ,खुल्ला सिमाना, सिमा विवाद, व्यापार र वार्णिज्य,नागरिकता लगायतका कैयौँ मुद्धाहरु भारतसँग जोडियका छन् । तर पछिल्ला दिनहरुमा अमेरिकी साम्राज्यावद राष्ट्रिय स्वाधिनताका लागि खतरा भएर आयो । यो अहिलेको सत्य हो । अन्तरविरोधको अहिलेको यो सवाललाई पनि प्रधान र गौण के हो भनेर हेर्नु पर्यो । त्यसैले यो वेला सच्चा कम्युनिस्टहरुले देशभक्तहरुसँग सहकार्य गर्नुपर्छ । अहिले कम्युनिस्टहरु, डेमोक्रेटिक लोकतन्त्रवादीहरु र देशभक्तहरुको मोर्चा चाहिन्छ । त्यसको पहल कम्युनिष्ट क्रान्तिकारहिरुले गर्नुपर्छ । कम्युनिष्ट पार्टीहरुवीच विचार मिल्नेहरुसङ्ग एकता गर्ने, मुद्धा मिलेहरुसङ्ग सहकार्य र कार्यगत एकता कायम गर्ने र त्यो पनि मिलेन भने एक अर्कोको विरोध नगर्ने ढंगले सोच्नुपर्छ । हामीले आजको अन्तरविरोधको समाधान गर्न र चुनौतिहरुको सामना गर्न उन्नत नयाँ विचार र आफ्नो क्लासको आधारमा मात्रै संभव छ ।

क्रान्ति भनेको सामाजिक आवश्यकतामा गर्ने चिज हो । त्यो पुस्तान्तरण गर्ने कुरा होइन । माओ, लेनिन, मार्क्स कसैको समयमा पनि सामाजिक क्रान्ति पुस्तान्तरण भएको थिएन र छैन । त्यसैले हामीले अहिलेको व्यवस्था र नेतृत्वको विकल्प दिनुपर्छ ।

(एक अन्तरकृया कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड सीले व्यक्त गरेको धारणाको सम्पादित अंश शेर बहादुर बिश्वकर्माले तयार पारेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?