काठमाडौं । नेपाली काँग्रेसभित्र लामो समयदेखि दबिएको आन्तरिक शक्ति संघर्ष अब खुला राजनीतिक प्रदर्शनमा परिणत हुँदै गएको छ । पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भनिएको विशेष महाधिवेशन ले पार्टीभित्र स्पष्ट ध्रुवीकरण देखाएको छ । एकातिर युवा नेतृत्व र संरचनागत सुधारको मागसहित विशेष महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ भने अर्कोतिर संस्थापन पक्षले त्यसको काउन्टरमा छुट्टै शक्ति प्रदर्शनको रणनीति अख्तियार गरेको छ ।

भृकुटीमण्डप क्षेत्रमा राजनीतिक चहलपहल तीव्र बन्दै गएको छ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेका छन् । उनीहरूको बसोबास, खानपान र यातायात व्यवस्थापनलाई प्राथमिकताका साथ मिलाइसकिएको आयोजक पक्षको दाबी छ । विशेष महाधिवेशन पक्षधरहरूले यसलाई पार्टीभित्र देखिएको नेतृत्व संकट समाधान गर्ने र युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। सहभागी प्रतिनिधिहरूले पार्टीमा नयाँ सोच, ऊर्जा र पुस्तान्तरण अपरिहार्य भइसकेको धारणा व्यक्त गर्दै आएका छन् ।
भक्तपुरबाट उठ्यो असन्तुष्टिको खुला आवाज
नेपाली काँग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिने भक्तपुरमा समेत असन्तुष्टि खुला रूपमा प्रकट भएको छ । भक्तपुरको दुवाकोट वैंकेटमा करिब ७ सयभन्दा बढी नेता–कार्यकर्ताको सहभागितामा सम्पन्न ‘छुट्टै जिल्ला भेला’लाई पार्टी नेतृत्वप्रतिको असन्तोष र संगठन सुधारको दबाबका रूपमा हेरिएको छ ।
नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सचिव समुन्द्र थापाको संयोजकत्वमा विशेष महाधिवेशन सन्दर्भमा आयोजित उक्त भेलामा वक्ताहरूले विधानअनुसार विधिको शासन कायम गर्नुपर्ने, कार्यकर्ताको आवाज दबाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने र संगठनलाई जरा तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिए ।
वक्ताहरूले पछिल्लो समय उदाएको ‘जेन–जी आन्दोलन’लाई सम्मान गर्दै त्यसलाई पार्टीको राजनीतिक ऊर्जाका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे । साथै, आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले रुख चिन्हमै चुनाव लड्नुपर्ने र गठबन्धनका नाममा पार्टीको मौलिक पहिचान कमजोर बनाइनु नहुने चेतावनीसमेत दिइयो ।
विश्वसनीयता कमजोर हुँदै गएको चिन्ता
भेलामा सहभागी अधिकांश नेताहरूले नेपाली काँग्रेसप्रति जनविश्वास कमजोर बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । जनतासँग टाढिँदै गएको नेतृत्वले आत्मसमीक्षा नगरे संगठन थप कमजोर हुने उनीहरूको निष्कर्ष थियो ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, जिल्ला सभापतिका उपविजेता अष्ट कवे, क्षेत्र नं. १ ‘क’ का उपसभापति दिनेश अवाल, चाँगुनारायण नगरपालिका–१ का सभापति नरेन्द्र अवाल, पूर्व जिल्ला सदस्य कृष्णहरी खड्का, क्षेत्रीय सभापति भेषबहादुर कार्की, कविर राणाले मन्तव्य राख्दै भेलाको सफलताको कामना गरेका थिए ।
विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाको बलियो पकड रहेको मानिने भक्तपुरमै यसरी दमित आवाजहरू खुला रूपमा उठ्नुले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र शक्ति सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ । महासमिति सदस्य सरु बानियाँ, महाधिवेशन प्रतिनिधि संगीता फुयाल, पूर्व जिल्ला सदस्य जनक शर्मा, मुरारी प्रसाद आचार्य, किरण न्याैपाने, रविन केसी, सविन ढुंगेल, शिवप्रसाद अवाल, साेम प्रधान, युवा नेता जनक खत्रीलगायतले गुटगत राजनीति, अवसरको असमान वितरण र एकपक्षीय निर्णयप्रति आलोचना गरे ।
५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरपछि खुलेरै ध्रुवीकरण
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एकजुट भई विशेष महाधिवेशनको माग गरेपछि पार्टीका जिल्ला तहका संरचनाहरू खुलेरै यस पक्षमा उभिन थालेका छन्। भक्तपुरसँगै ललितपुर, कास्की, सिन्धुपाल्चोक, उदयपुरलगायत जिल्लाका सभापतिहरूले औपचारिक विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको स्वागत गरेका छन्। स्रोतका अनुसार हालसम्म ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।
यसअघि असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै विधानअनुसार विशेष महाधिवेशन बोलाउन माग गरेका थिए । तर प्रक्रिया अघि नबढाइएको आरोप लागेपछि महामन्त्रीद्वयले विधानअनुसार बाध्यकारी अवस्था आएको निष्कर्षसहित आफैं विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
संस्थापनको प्रतिवाद र एकताको अपिल
पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य नरहेको दाबी गर्दै आएका छन् । दबाबकै बीच नेता शेखर कोइरालाले यसलाई ‘संकल्प महाधिवेशन’का रूपमा रूपान्तरण गर्दै पार्टी एकतामा जोड दिन सभापति देउवालाई आग्रह गरेका छन् ।

विशेष महाधिवेशनको काउन्टर रणनीतिका रूपमा संस्थापन समूहले उद्घाटनकै दिन सानेपामा ‘युवा भेला’ आयोजना गर्ने निर्णय गरेको छ । एकातिर भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी र अर्कोतिर सानेपामा संस्थापन पक्षको शक्ति प्रदर्शनले नेपाली काँग्रेसभित्रको नेतृत्व बहस र शक्ति संघर्ष स्पष्ट रूपमा सतहमा ल्याएको छ ।
अब पुस २७ र २८ गते हुने यी दुई समानान्तर राजनीतिक गतिविधिले नेपाली काँग्रेसको नेतृत्व संरचना, आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो राजनीतिक वृत्तमा तीव्र रूपमा बढेको छ । पार्टी एकताको कसौटीमा उभिएको यो क्षणले काँग्रेसको भविष्यको बाटो तय गर्ने संकेत देखिन थालेको छ ।



