भक्ति, समर्पण र सौभाग्यको पर्वतीज : बंशीकुमार शर्मा

बंशीकुमार शर्मा

पौराणिक कालदेखि नै धर्म, संस्कृती र परम्परामा रहेको हाम्रो समाज, हामीले मान्दै आएको चाडपर्वहरुको ऐतिहासिक महत्व रहेको छ । अनादीकाल देखि हामीले मान्दै आएका छौ । वैदिक सनातनी महिलाहरुको पर्व हरितालिका तीजको महत्व ठूलो रहेको छ। बिश्वमा १ अर्ब ५० करोड भन्दा बढी हिन्दु धर्मालम्वी छन्।

जस मध्ये ९६ प्रतिशत दक्षिण एसियामा बसोवास गर्छन्। नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, सिंगापुर, मौरिसस, फिजी, सुरिनाम, गयाना, ट्रिनिडाड र टोबागो, संयुक्त अधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मालम्विहरु उल्लेखनीय संख्या पाइन्छ।

सबै हिन्दु धर्मालम्वीका आस्था विश्वास त्रिदेव ब्रह्मा, बिष्णु, महेश्वर, देवी देवता, तेतिस कोटीमा समान छ। आस्था र बिश्वास समान भए पनि स्थान अनुसार चाड पर्व मनाउने संस्कृति फरक फरक छन्। विशेष गरि नेपालका पहाडीमुलका मानिसहरु बसोवास भएको स्थानमा हरितालिका तीज पर्व मनाउने गर्दछन् । नेपालको पुर्व पश्चिम फैलिएको महाभारत पर्वत श्रृङखला चुरे पर्वतको माथिल्लो भाग हो। उचाइ १५००–३३६० मिटर भएको पहाड हो। यो पाहाड नेपालको पुर्व पश्चिम देखि भारत सम्म पनि फैलिएको छ । पुर्व देखि पश्चिम सम्म फैलिएको महाभारत श्रृङखलाको वरपर बसोवास गर्ने हिन्दु धर्मालम्वीहरु जाहा सम्म पुगे बिशेष गरि तीनिहरुले हरितालिका तीज मनाउने गरेका छन् । प्राय मौलिक चाँडहरुलाई पनि यस क्षेत्रमा वसोवास गर्नेले निरन्तरता दिएको देखिन्छ ।

संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ “शाश्वत धर्म“, “अनन्त मार्ग“ भन्ने बुझिन्छ। परम्परादेखि चल्दै आएका पर्व संस्कृति मनाउँदै आएका छन्। कतिपय पर्वहरु लोक बिश्वासका आधारमा मनाउँदै आएको सर्वबिदितै छ।

यसैक्रममा नेपालीको मौलीक पर्व हरितालिका तीज पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुले निराहार व्रत बसेर मनाउने गर्दछन् भने अविवाहित महिलाहरुले पनि योग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन्।

यो पुरुषहरुको लागि पनि उत्तिकै उत्तम मानिएको छ। हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा–आराधना गर्ने गरिन्छ। ब्रतालुहरुले यो व्रत निराहार एवं निर्जला भई भगवान शिव पार्वती पूजा अर्चना गर्दछन् । व्रत बस्न नसक्नेले पूजा अर्चना पश्चात फलहार गर्ने र रात्रि जाग्राम गरि नाचगान गरि रमाइलो गर्ने चलन चल्दै आएको छ।

भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्ने गर्दछन्। हरितालिकाको लोकप्रसिद्ध नाम ‘तीज हो। यो विशेषगरी नारीहरूले मनाउने पर्व हो। व्रतका अघिल्नो दिन दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ।

दरमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर खुवाउने चलन छ। यस पर्वमा नयाँ कपडा तथा गरगहना लगाउने सक्नेले दिदी बहिनीलाई गच्छे अनुसार दक्षिणा उपहारका रुपमा लुगा दिने चलन रहेको छ।

यस पर्वले भगवान शिव र शक्ति स्वरुपा पार्वतीको मिलनको गाथाले भरिएको सन्देशले पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ। आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको प्रमाणित गर्ने, ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वमा उल्लेख भएको पाइन्छ।

तीजमा विवाहिता महिलाहरू आफनो पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता महिला सुयोग्य वरको आशा राखी व्रत बस्छन्। व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण–ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ।

यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। तीजको भोलिपल्ट गणेश चौथी यस दिन बिशेष रुपले बिघ्नहर्ता भगवान गणेशको पूजा अचर्ना गर्ने गरिन्छ।

त्यसको भोलिपल्ट भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीका दिन बिबाहित महिलारुले बिधिबिधान अनुसार शुद्ध हुनको लागि नदी वा तलाउ सरोवरमा गइ अपामार्गका ३६५ वटा दतिवन तोकी माटो तथा गाइको गोबर लगाएर ३६५ पटक नुहाउने गर्दछन्।

मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याइ छानिएको पानीले नुहाउनु र सप्तऋषिको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ।

३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मोक्ष पाइने पनि जनविश्वाश छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको मौलिकता हो।

नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ। एक उत्साहपूर्ण र अर्थपूर्ण पर्व तीजका सांस्कृतिक अभ्यासहरू वैदिक परम्पराका गहिरा आध्यात्मिक र दार्शनिक शिक्षासँग जोडिएको छ।

अहिलेसम्मको मौलिक परम्पराले तीजलाई भक्ति, समर्पण र सामाजिक एकताको पर्व बनाएको छ। तर पछिल्ला वर्षमा सहरीकरण र भड्किलो जीवनशैलीसँगै तीजको स्वरूपमा केही चुनौती देखिएका छन्। दर खाने नाममा होटल–पार्टी प्यालेसमा खर्चिलो भोज, महँगो गहना–लुगाको प्रदर्शन र प्रतिस्पर्धाले यसको धार्मिक–सांस्कृतिक मर्मलाई ओझेल पार्न थालेको छ।

यसरी तीजलाई केवल देखावटी नाचगान वा भोजमा सीमित बनाउनु संस्कृतिको संरक्षण होइन । तीज पर्व सरल श्रद्धा, सामाजिक सद्भाव र परिवारिक आत्मीयतामै निहित छ।
तीज पर्व केवल नारीहरूको निराहार व्रत मात्र होइन, यो शिव–पार्वतीको दिव्य प्रेमकथा, नारी समर्पण र सनातन धर्मको निरन्तरता हो। यो पर्वले दिने सन्देश स्पष्ट छ भक्ति, समर्पण र सौभाग्य नै जीवनको वास्तविक सम्पत्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?