“भक्तपुरको मध्यपुर थिमी — जहाँ ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको नीलबाराही मन्दिर सङ्कटमा छ ।
एक दशकसम्म राज्यले टाउको नघुमाएपछि, भक्तपुरको ऐतिहासिक नीलबाराही मन्दिर अहिले आफ्नै जनता– आफ्नै पुजारी, आफ्नै संरक्षकको साथ बाँच्न खोजिरहेको छ । पहिरोको छायाँमा परिरहेको यो सांस्कृतिक तीर्थस्थललाई जोगाउने जिम्मेवारी अहिले सरकारका योजनाभन्दा पनि जनताको माया र श्रमको काँधमा अडिएको छ ।
आईतबार बिहान थिमिको आकाश अलिक मलिन थियो। तर नीलबाराही मन्दिरको वरिपरि भने उत्साहको रंगमा सजिएको थियो — सुत्केरी आमादेखि वृद्धसम्म, विद्यार्थीदेखि शिक्षकसम्म सबैका हातमा कोदालो, बेल्चा र बोरा। अनि मनमा एउटै भाव: “नीलबाराही बचाउनु पर्छ।”
“हामी यसलाई टुलुटुलु हेरेर चुँडिन दिन सक्दैनौं,” थिमिकै २३ ,२४ वर्षीय युवाहरुको आवाज दृढ सुनिन्छ, “यो हाम्रो अस्तित्व हो, हाम्रो इतिहास हो।”
जब जनता अघि सर्छ, राज्य किन पछि पर्छ?
नीलबाराही संरक्षण अभियान १० हप्ताअघि केही स्थानीय युवाको छलफलबाट सुरु भएको थियो। ती थोरै आवाजहरू आज हजारौंको हुकार बनेका छन्।

नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका अध्यक्ष भन्छन्, “ सरकारले वेवास्था गरे पछि अब त आफै गर्नु पर्छ भनेर पहल कदमी गरेको बेला सुरुमा ५०-६० जना मात्र थियौं। अहिले त श्रमदानको दिनमा ४ हजारभन्दा बढी आउँने गरेका छन् , भक्तपुरका मात्र नभई उपत्यका प्रदेशका भिविन्न ठाउँबाट जसरी सकिन्छ खाजा ,पानी, पैसा, र श्रम सहयोग गर्नेको घुइँचो लागेका छन्,हामीलाई सघाइरहेका छन् ।”
त्यसैबेला हामीले देख्यौं– आ-आफ्नो खाजा बोकेर आएका आमाहरू, काम सकेर फलफूल बाँडिरहेका किशोरहरू, अनि भीरको छेउमा माटो भरिएका बोरामा तटबन्ध बनाइरहेका बुबाहरू।

तर जनताले जति जोडबल गरे पनि, स्थानीय सरकारको चुप्पी जनस्तरमा आक्रोशको रूपमा व्यक्त भइरहेको छ।
श्रमदानमा सहभागी एक शिक्षक भन्छन्, “नक्शामा मात्र योजना देखाएर जनताको भावना अल्झाउने काम भयो। आखिर हामी आफैं उठ्न बाध्य भयौं।”
साँस्कृतिक सम्पदा र पर्यावरणीय संकटको दोभान
थुम्कोमा अवस्थित नीलबाराही मन्दिर भक्तपुर मात्र नभई सिंगो काठमाडौं उपत्यकाको नेवार समुदायको आस्थाको केन्द्र हो। पाँच सय रोपनीभन्दा बढी फैलिएको यो क्षेत्र अब पहिरोको भयावह जोखिममा परेको छ।

लगातारको वर्षाले मन्दिर वरिपरिका पर्खाल चर्किएका छन्, बाटाहरू बगाइएका छन्, र भित्ताहरूबाट माटो खस्न थालेको छ।
तर अहिले स्थानीयको हातको बलले ढुङ्गा बिछ्याइएका छन्, बोरामा माटो भरेर भीरमा तटबन्ध बनाइएको छ, र घाँस रोपेर जमिनलाई सम्हाल्ने प्रयास भइरहेको छ।
“सस्तो लोकप्रियता होइन, दीर्घकालीन समाधान चाहिएको छ,” स्थानीय बासिन्दा भन्छन् “बलियो जलनिकास प्रणाली, इन्जिनियरिङ संरचना र सरकारी लगानी बिना स्थायित्व सम्भव छैन।”

नीलबाराहीको कथा एउटा मन्दिरको मात्र होइन। यो राज्यको लापर्बाही ,उदासीनता र जनताको असल उदाहरणबीचको संघर्ष हो।
यस आन्दोलनले देखाएको छ — जब सरकार बेवास्ता गर्छ, जनताको हिम्मतले सरकारलाई पनि मात दिन सक्छन्।
भविष्यमा नीलबाराही पुनर्जीवित हुन्छ कि सकिन्छ — त्यो समयले बताउला। तर इतिहासले यो जनताकाे उत्साहपूर्ण श्रमदान बिर्सन सक्दैन।
















