काठमाडौं : शनिबार बसेको संसदीय अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ।
सांसद श्रेष्ठले बोल्ने क्रममा पूराना कुराहरू दोहोर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासा मात्रै राख्नु भनेपछि भनाभन भएको हो। समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुरा भन्दा पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए।
सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरूमा आत्मनिर्भर बन्नुपर्ने बताए। मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए।
उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने ? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिए। साथै मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे।
सांसद श्रेष्ठले मन्त्री महतले लामो जवाफ दिइरहेको र त्यसको कारण सांसदहरूले प्रश्न गर्न नभ्याएको बताए । लगत्तै सांसद श्रेष्ठले लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको, खर्बौं रूपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् ? भन्ने प्रश्न गरे।
उनले फेरि मन्त्री महतलाई यो कुरा कहाँ ध्यानाकर्षण गराउने ? भन्दै प्रश्न गरे। साथै हतार भयो भनेर नहुने भन्दै कि बैठक नै राख्न नहुने भने । उनले मन्त्री महतलाई हतार भए जानुहोस्, भन्दै असहमति प्रकट गरेका थिए।
सांसद श्रेष्ठको जवाफपछि मन्त्री महतले आफूले यसबारेमा धेरै पटक सुनिसकेको र जिज्ञासा राख्न आग्रह गरे । यसको जवाफमा सांसद श्रेष्ठले बुझिसकेको भए अर्थतन्त्रमा किन संकट छ? भन्दै प्रश्न गरेका थिए।
मन्त्री महत र सांसद श्रेष्ठबीचको भनाभनः
सांसद श्रेष्ठ : ‘पूँजिगत खर्च भनेको पूँजिगत खर्च होइन, पूँजिगत लगानी हो, त्यसले त प्रतिफल दिनुपर्छ हामीलाई । त्यो प्रतिफल कहिले र कति आउँछ भन्ने हामीसँग आँकलन हुँदैन। उदाहरणको लागि गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लिए पुग्छ । हाम्रा योजना मनगढन्ते हुन्छन् । एक पटक भ्युटावरको कल्चर आएको थियो, डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेबकुफ हो । डाँडा आफैँ भ्युटावर हो नि त ! व्यापार घाटामा कतै न कतै अवसर लुकेको छ । १३ करोडको धनियाँ आयात गर्छौं,धनियाँमा आत्मनिर्भर बनौँ न ।
मन्त्री महत : भ्यु टावरको कुरा मैले संसददेखि सुनेको सुन्यै छु, यो कुराको ग्रहण गरिसकेँ ।
सांसद श्रेष्ठ : निजी क्षेत्रले सरकारलाई विश्वास नै गर्न सकेको छैन । वित्तीय संस्थालाई नियमन कसरी गर्ने । हामीले तीन खम्बे अर्थनीतिको कुरा गरेका छौँ । सहकारी बेस लाइन अर्थतन्त्र हो यो ।
मन्त्री महत : बुझेँ..बुझेँ
सांसद श्रेष्ठ : मन्त्रीज्यू हतार नगर्नस् न । जवाफ नै लामो दिइराख्नुभएको छ तपाईंले । प्रश्न सोध्दा तपाईंलाई ध्यानाकर्षण त गराउनुपर्छ नि ! लाखौं रूपैयाँ खाएर सहकारी भागिरहेको छ, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा छैन । अनि देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन् ? यो कुरा हामीले कहाँ ध्यानाकर्षण गराउने ? तपाईलाई हतार भयो भनेर हुन्छ ? कि बैठक नै राख्नुभएन । सभापतिज्यु यस्तो हो भने बैठक नै नराखिदिनुहोस् । उहाँलाई हतार छ ठीक छ जानुहोस् ।
मन्त्री महत : तपाईंहरूले पटकपटक यी कुराहरू राख्नुभएको छ, जिज्ञासा मात्रै राख्नुस् न । मैले ग्रहण गरेको छु, व्याख्यात्मक भन्दा जिज्ञासामा जानुहोस्, यो कुरा बुझेको छु ।
सांसद श्रेष्ठ : बुझेको भए संकट किन छ ?
मन्त्री महत : संकट मैले आजको आजै समाधान हुन्छ र ? त्यसको लागि म इमानदार प्रयास गर्छु ।
सांसद श्रेष्ठ : आजको बैठकको औचित्य के ?
मन्त्री महत : सभापतिज्युले बोलाएर म आएको हो नि!
सांसद श्रेष्ठ : तपाईं त समितिप्रति जवाफदेही हुनुहुन्छ नि ! हाम्रो औपचारिक प्रणालीबाट खर्बौं रूपैयाँ बाहिर छ, त्यसलाई नियमन गर्नुहोस् । त्यसले पनि असर गरेको छ।














