१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

भूकम्पले वंश नै नरहने गरी अस्ताए एकै परिवारका सदस्यहरू

काठमाडौं। रुकुम पश्चिमको सानीभेरी नगरपालिका–१ का प्रेम पुनले विनासकारी भूकम्पमा छोरा–बुहारीसहित दुई नाति गुमाए । घरमा आइतबार पुग्दा पत्नीसँगै भत्केको घरको बाहिर उनी टोलाइरहेका थिए । माटो र ढुंगाले बनेको उनको दुईतले घर पूरै भत्किएको थियो । भुइँ तलाको एउटा कोठा मात्रै बचेको थियो । ‘हामी बुढाबुढी (पति–पत्नी) यहीं (भुइँ तलामा) सुतेकाले बाँच्यौं, छोरा–बुहारी र दुई नाति माथिल्लो तलामा सुतेका थिएँ, च्यापिएर बिते,’ उनले भने,‘मेरो त सहारा मात्रै होइन, भूकम्पले वंश पनि नास गर्‍यो।’

भूकम्पले उनको बास घरबाट सडकमा पुर्‍याएको छ । घर छेउमै कालोपत्रे गरिएको मध्यपहाडी राजमार्ग छ । त्यहीं सडकमा उनले दुई रात बिताइसके । अझै कति दिन र रात भोकै र नांगै सडकमा बस्नुपर्ने हो, उनलाई थाहा छैन । घरमा भित्राएको खाद्यान्न पनि पुरिएको छ । घरको भग्नावशेष पन्छाउने तागत पनि उनीसँग छैन ।

जाजरकोटको बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले उनीजस्तै धेरैलाई बेसहारा र घायल बनाएको छ । सरकारले घाइतेको उद्धार चाँडै गरे पनि राहत ल्याउन भने ढिला गरेको उनले बताए । ‘अहिलेसम्म कसैले पनि एकसरो पाल, खाद्यान्न र भाँडाकुँडा दिनुभएको छैन,’ आइतबार छोरा–बुहारी र दुई नातिको दाहसंस्कार गरेका प्रेमले भने, ‘चिसोमा भोकभोकै र नांगै कति दिन सडकमा सुत्नुपर्ने हो, थाहा छैन ।’

सानीभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोकाले गाउँका कुनै पनि घर बस्न लायक नभएको बताइन् । ‘वडा नं. १ मा ४६३ घरधुरी छन् । जसमा धेरैजसो भत्किएका छन् भने बाँकी चिरा परेका छन्,’ उनले भनिन्, ‘घरभित्र बस्न सक्ने अवस्था छैन । राहत पनि आइपुगेको छैन ।’ सानीभेरी गाउँपालिकामा ५२ सय घरधुरी छन् । जसमध्ये केही घर मात्र बस्न योग्य छन् । धेरैको बास सडक र खेतवारीमा छ । ‘सरकारले चाँडोभन्दा चाँडो पाल, खाद्यान्न र भाँडाकुँडा पाए पीडितलाई केही राहत हुन्थ्यो,’ उनले भनिन्, ‘चिसोमा खेतबारी र सडकको बासले अर्को समस्या निम्त्याउने खतरा छ ।’ उनले पालिकाले मात्र पीडितलाई आवश्यक राहत सामग्री पु¥याउन नसक्ने बताइन् । उनले भनिन्, ‘सबैलाई राहत दिनुपर्ने भएकाले पालिका एक्लैले सक्ने अवस्था छैन ।’

जाजरकोटको नलगाढ नगरपालिका–१, चिउरीका रविलाल विक आइतबार आफन्तहरूको मलामी गएर फर्किएका थिए । चिउरी गाउँका १८६ घरधुरीमध्ये अधिकांश भत्किएका छन् । बाँकी घर पनि चर्किएर बस्न नमिल्ने छन् । चिउरी गाउँका २५ जनालाई भूकम्पले लग्यो । ‘आजै (आइतबार) १३ जनालाई नलगाडमा जलाएर आयौं,’ उनले भने, ‘भूकम्पले गाउँ नै तहसनहस बनाइदियो ।’ भूकम्पले नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि ज्यान लियो । नलगाडा पालिकाभरि ५६ जनाको ज्यान गयो । चिउरी भूकम्पबाट सबैभन्दा बढी प्रभावितमध्येको एक गाउँ हो । चिउरीमा आइतबारसम्म राहत सामग्री पुगेको छैन । ‘एकसरो कपडाले ठुलीभेरी र नलगाडको सिरेटो कसरी थेग्न सकिएला र खै,’ उनले भने, ‘अझैं कतिदिनसम्म यो पीडा सहनुपर्ने हो, थाहा छैन ।’

राति सुतेका बेला भूकम्प गएकाले कसैले पनि लत्ताकपडा र खाद्यान्न बाहिर निकाल्न पाएनन् । ‘खाद्यान्न र कपडा घरका भग्नावशेषले पुरिएका छन्, हामी भोकै र नांगै बस्नुपरेको छ, चिउरी गाउँकी रामदेवी नेपालीले भनिन्, ‘दुःख एकै पटक आउँछ भन्थे, हामीलाई त्यस्तै भएको छ ।’ सरकारले राहत सामग्री दिन नसकेको भन्दै उनले आक्रोश पोखिन् । ‘दुई रात खेतमा एकसरो कपडाको भरमा बिताइसक्यौं, खान पनि अन्न छैन,’ उनले भनिन्, ‘सरकार राहत आउँछ भन्छ, हेलिकोप्टरमा नेताहरू मात्रै आएको देखिन्छ ।’

गाउँमा पुगेका केही राहत सामग्री पनि पीडितले पाउन सकेका छैनन् । एकद्वार नीतिका कारण गाउँमा पुगिसकेको राहत सामग्री पनि वितरण नहुँदा पीडित भोकभोकै छन् ।

नलगाडमा शनिबार राति नै लायन्स क्लब,जेसिजलगायतका सामाजिक संस्थाले राहत सामग्रीहरू पुराएका थिए । पालिका र प्रशासनले एकद्वारा नीतिमार्फत वितरण गर्ने भन्दै सामाजिक संस्थालाई वितरण गर्न दिएन । ‘जिल्ला प्रशासन कार्यालयको रोहबरमा दाताहरूबाट प्राप्त राहत सामग्रीहरू वितरण गर्ने निर्णय भएको छ,’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने,‘जथाभावी वितरण गर्दा पछि समस्या आउने भएकाले यो निर्णय गर्नुपरेको हो ।’ उनले राहत सामग्री सोमबारदेखि वितरण गरिने बताए ।

भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमका मानिस आफन्त गुमाएको पीडामा मात्रै होइन, फेरि भूकम्प आउने हो कि भन्ने त्रासमा पनि छन् । राति पनि परकम्प भइरहेका कारण सुत्न नसकेको पीडित बताउँछन् । समाचार संकलनका लागि सानीभेरी गाउँपालिका–१ पुग्दा घरमाथिका पहाडबाट माटो खसिरहेको देखिन्थ्यो । त्यहाँकी प्रमिला पुनले भूकम्पका कारण पहाड पनि चिरा परेको बताइन् । चिरा परेको पहाड फुटेर कति बेला गाउँ पुर्ने हो भन्ने चिन्ता पनि पीडितमा छ । ‘भूकम्पपछि पहाडबाट सुख्खा पहिरो खसिरहेको छ,’ उनले भनिन्, ‘एक त सडकको बास छ, त्यसैमाथि पहाड आएर पुर्ने हो कि भन्ने त्रास छ ।’

शवको दाहसंस्कार गरिए पनि गोठमा च्यापिएर मरेका पशु चौपायाको व्यवस्थापन हुन सकेको छैन । स्थानीयका अनुसार प्रहरीले मुचुल्का नउठाएकाले मरेका पशु–चौपायाको व्यवस्थापन नगरिएको हो । मरेका पशु–चौपायाको चाँडै व्यवस्थापन नगरिएको अर्को संकट आउन सक्छ ।
नागरिक डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?