धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चा सुदुरपश्चिम प्रदेशको संदेश सभालाई सम्बोधन गर्दै दाहालले प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ । देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक छ ।”
दाहालले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताए । निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको उनको भनाइ छ ।
कोशीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको हाे , प्रचण्डले भने । उनले भने ,“एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल भयाे । हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपियाेक । यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ ।”