अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण आएको बाढी,पहिरो र लेदोका कारण देशका १४ मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १० वटा सडक प्रभावित भएका छन्। जसमा पासाङल्हामु राजमार्ग,मैलुङ-स्याफ्रुबेशी,पृथ्वी राजमार्गको कृष्णभिर र तिङराङखानी,कान्तिलोकपथ तथा बीपी राजमार्ग समेटिएका छन्।
त्यसैगरी, कोशी प्रदेशको सिद्धिचरण लोकमार्ग र चतरा-बराहक्षेत्र सडक तथा लुम्बिनी प्रदेशको कालिगण्डकी करिडोर र घोराही-थवाङ सहिदमार्गसमेत पहिरोले ठप्प भएका छन्। सडक खुलाउने प्रयास जारी रहे पनि वर्षाका कारण अवरोध हटेको छैन।














