काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो मूल राजनीतिक सिद्धान्त परिमार्जन गरेको छ। पार्टीको जारी प्रथम महाधिवेशनको बन्दसत्रमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएसँगै रास्वपाले स्थापनाकालको ‘संवैधानिक समाजवाद’ लाई छोडेर ‘सामाजिक लोकतन्त्र’ लाई नयाँ सिद्धान्तका रूपमा अङ्गीकार गरेको हो।
संविधान तत्कालीन राजनीतिक शक्तिहरूबीचको गतिशील सम्झौताको दस्ताबेज भएकाले यसलाई नै ‘वाद’ का रूपमा लिनु उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको प्रतिवेदनमा उल्लेख छ। अबको नीति लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था र उत्तरदायी शासनमा केन्द्रित हुने जनाइएको छ।














