नेपाल कम्युनिष्ट पार्टी ऐमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पारेका छन्। शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको बताएका हुन्।
ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनित जुनसुकै पदमा भए पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भएको बताए। ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेलामा बोल्ड लिडर आवश्यक पर्ने र त्यो केपी शर्मा ओली नै भएको दाबी गरे। उनले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने बताए।



