धनगढी : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताइन् ।
‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।
उनले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताइन् ।
अर्को प्रसङ्गमा नेपाली कांग्रेसकी नेतृसमेत रहेकी राणाले ठूला र प्रतिस्पर्धी पार्टीको सरकार भएकाले दुवै पार्टीका नेता कार्यकर्ताबीच तल्लो तहदेखि नै समझदारी एवं सहकार्यका लागि संयन्त्र बनाइएको बताइन् ।














