काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)मा कार्यरत बैज्ञानिक कर्मचारीहरुले निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
परिषद अन्तर्गतका सबै कार्यालयहरुमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका उनीहरुले आज पहिलो दिन निमित्त कार्यकारी निर्देशक बोजराज खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिंचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गर्ने उनीहरुको भनाइ छ ।
केन्द्रीय कार्यालयमा तालाबन्दी, मातहतका अन्य कार्यालयमा पेन डाउन, कार्यलयका चार पांग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम पनि गर्ने आन्दोलनरत वैज्ञानिक दीपक अधिकारीले जानकारी दिए ।
नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरुलाई विभेदकारी ढंगबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरु आन्दोलनरत छन् ।
त्यस सम्बन्धी रिटमा पाटन उच्च अदालतले समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश जारी गरे पनि परिषद व्यवस्थापन कार्यान्वयनमा उदासिन देखिएको भन्दै कर्मचारीहरु विरोधमा छन् ।
उनीहरुले परिषद्लाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै परिषद्का कार्यकारी निर्देशक, निर्देशक र कानुनी सल्लाहकारको राजीनामा मागेका छन् ।
त्यस्तै लेखा प्रशासनमुखी र व्यक्ति केन्द्रित चलखेल बन्द गर्न तथा ऐन, विनिमय, सांगठनिक संरचना तथा हाल अलपत्र रहेका पदपूर्तिमा पनि यथाशीघ्र निकास दिन माग गरेका छन् ।