काभ्रेपलाञ्चोक । विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार सङ्गठित गिरोहले हालसम्म काभ्रे जिल्लाका विभिन्न स्थानमा जडान गरिएका ६ वटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको छ ।
जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेपछि विशेष टोली परिचालन गरी उक्त गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले प्रहरी चौकी भकुण्डेबेँसी र इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले चोरीमा संलग्न सातलाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको बताए । चोरी गरिएका तामाका तार भक्तपुरका विभिन्न कवाडी पसलमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनकाे भनाई छ ।