काठमाडौं । केही दिनकालागि भारतक विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आएका छन्। आफ्नो दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आएका उनी केहीबेर अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।
नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयद्वारा शुक्रवार दिइएको जानकारीअनुसार विदेश सचिव मिस्रीको भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भेटघाटको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।
भारत सरकारको सहयोगमा नेपालमा ठुला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न हुनुका साथै नयाँ परियोजनाहरू अघि बढिरहेको भन्दै भारतीय विदेश मन्त्रालयले यसबाट पछिल्ला वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको पनि दाबी गरेको छ । ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ,’ मन्त्रालयद्वारा जारी जानकारीमा भनिएको छ ।














