काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गर्नुभएको छ ।
प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ विमोचन समारोहमा उहाँले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हावी भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।” उहाँले प्राडा सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूती’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गर्नुभयो । विसं २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिर्वतन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उहाँको भनाइ थियो ।
पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्राडा केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिनुभयो । पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनी, लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् प्राडा त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्राडा केसीको पुस्तक ‘स्मृति र अनुभूती’बारे धारणा राख्दै शुभकामना समेत दिनुभएको थियो ।














