लम्की : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्युरो इन्चार्ज डबलबहादुर सी भगतसिंहले विप्रेषणका लागि राज्यले नै फ्री भिसा र फ्री टिकट भन्दै युवाहरु बिदेश पलायन गर्न उत्प्रेरित गर्ने कुरा देशको दीर्घकालीन हितका लागि घातक भएको बताएका छन।आइतबार नेकपा सेती ब्युरोले कैलालीको घोडाघोडी रत्तिपुरमा गरिरहेको कृषि उत्पादन कार्यबारे छोटो प्रतिक्रिया दिदै नेता भगतले यस्तो बताएका हुन।
-
“राज्यले नै फ्री भिसा, फ्री टिकट भन्दै श्रमसिल युवाहरुलाई धमाधम बिदेश पठाउने अभियान सञ्चालन गरिरहेको छ,यसले स्वदेशमा उत्पादनको प्रचुर संभावना हुँदाहुँदै युवाहरु बिदेशीने र रेमिटेन्सको आशमा देशको प्रशासन चलाउन खोजिदै छ, यो दीर्घकालीन हिसाबले राम्रो हुँदैन”कुराकानीको क्रममा उनले भने- “बिदेश जानै हुन्न भन्ने होइन,दक्ष जनशक्ति जान सकिन्छ तर हाम्रोमा त ८/९ कक्षा पढ्दापढ्दै बिदेशको सपना देखाइन्छ, यो डरलाग्दो पक्ष हो।”
कुराकानीको क्रममा नेता भगतसिंहले श्रमले नै सबै कुराको सिर्जना गरेको , देशमा रोजगारी र उत्पादनको राम्रो संभावना हुँदाहुँदै राज्यले अभिभावकत्व लिन नसकेकोले देशमा उत्पादन र रोजगारी सिर्जना हुन नसकेको समेत बताए।
नेपाल कम्युनिस्ट पार्टी सेती ब्युरोको योजना अनुसार कैलालीको रत्तिपुरमा ४ बिघा जमिनमा कृषि फर्म सञ्चालन गरिरहेका भगतले आफुहरुको उत्पादन अभियान समाजवादी अर्थतन्त्रको प्रयोग र क्रान्तिको आधार भएको समेत उल्लेख गरे।
कुराकानीको क्रममा उत्पादनमुलक कामलाई सफल पार्न , युवाहरुको श्रमको प्रयोग गर्न विद्यमान व्यवस्था बाधक भएको भन्दै राज्यको दलाल चरित्र बदल्नुपर्ने र नेपाली बिषेशताको समाजवादी आर्थिक प्रणालीले मात्रै अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो।














