काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारलाई देशको गहना भन्ने गरिएपनि यथार्थमा चलचित्र क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको र नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताएका छन्।
बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताए। उनले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको बताए।
उनले भने, ‘हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ। भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ। यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन। यो बडो दुःखका साथ भन्नुपर्छ। यस्तो भव्य कार्यक्रमले, संसारभरका फिल्म मेकर्स आउनुभएको छ, यो कार्यक्रम जति हेर्दा सजिलो लाग्छ कार्यक्रम आयोजना कति गाह्रो छ भन्नेकुरा कल्पना भन्दा बाहिर छ।’
केसीले निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको पनि बताए।
उनले भने, ‘चलचित्र विकास बोर्डले हामीले सकेको, हाम्रो क्षमताअनुसारको पैसा सहयोग गर्दै आएको छ। त्यो कलापि पर्याप्त होइन। यसका लागि अझ धेरै काम गर्नुपर्छ। सरकारले नै वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर छुट्टै बजेट देओस् भन्ने मेरो पनि माग छ।’
अध्यक्ष केसीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सञ्चालनका लागि वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याउन आवश्यक रहेको बताए।














