बाजुरा । उपचारका लागि हवाई उद्धार गरी सुर्खेत लगिएकी गर्भवतीको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका–२ लुमाका गर्भवती सुकिली सार्कीको शनिबार सुर्खेत अस्पतालमा मृत्यु भएको हो । शनिबार बिहान कोल्टी विमानस्थलबाट आपतकालीन अवस्थामा हवाई उद्धार गरी सुर्खेत लगिएपछि उनको मृत्यु भएको हो ।
उनीसँगै चार दिनको अवधिमा जगन्नाथ गाउँपालिकाका दुईजना गर्भवतीको आपतकालीन उद्धार गरिएको छ । सिकिस्त अवस्थामा शुक्रबार राति प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याइएका सार्कीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
सुर्खेत अस्पतालमा शल्यक्रिया गरेर मृत जुम्ल्याहा बच्चा निकालिएको थियो । तर, पनि चिकित्सकले सार्कीलाई बचाउन सकेनन् । ‘डाक्टरहरुले उनलाई बचाउन कठिन छ भनेका थिए’, मृतकका ससुरा रत्नचन्द्र सार्कीले भने, ‘दिउँसो अप्रेसन गरेर मृत जुम्ल्याहा बच्चा झिकेका थिए । साँझ उनको मृत्यु भयो ।’
सुकिलीलाई पेट दुख्ने, टाउको दुख्ने, उच्च रक्तचापको समस्या थियो । उनलाई ब्रेनह्यामरेज भएको कोल्टीका डाक्टर रञ्जित साहले बताए । उनका अनुसार कोल्टीमा उपचार गर्न सम्भव नभएपछि सुविधासम्पन्न ठाउँमा रेफर गरिएको थियो ।
लापरबाही र सचेतनाको अभावले गर्भवती सार्कीको ज्यान गएको डा. साह बताउँछन् । उनका अनुसार सार्कीले एकपटक पनि गर्भजाँच गराएका थिएनन् । ‘जगन्नाथबाट आउने यस्ता केसमा अधिकांशले गर्भजाँच नगरेको पाइएको छ’, डा. साहले भने, ‘यस्ता समस्यालाई गाउँपालिकाले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।’
सार्कीको घरबाट स्वास्थ्य चौकी पुग्न करिब १० मिनेटको दूरी छ । सार्कीका श्रीमान् अछाममा ज्याला–मजदुरी गर्छन् । उनका एक छोरा, एक छोरी छन् ।