काठमाडौं । सत्ता गठबन्धनका दलहरुले माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सिट संख्यामा आ-आफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आ–आफ्नो दाबी पेश गरेका हुन् ।
कांग्रेसले सबैभन्दा धेरै १३,नेकपा माओवादी केन्द्रले ७,जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या,प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।
सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार नै ४ बजे छलफल हुनेछ ।
दिउँसो ४ बजे नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुने नेताहरुले बताएका छन् । माघ ११ गते हुने चुनावका लागि पुष २३ गते मनोनयन दर्ता गर्नुपर्नेछ ।