कञ्चनपुर , पौष २० : नेपाल कम्युनिस्ट पार्टी सेती तथा महाकाली ब्युरो समितिले विभिन्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार नेकपा कञ्चनपुर , दार्चुला , बझाङ्ग , डोटी लगायतका जिल्लामा जनताको जनजीविका संग सम्बन्धित विषयलाई लिएर जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो ।
नेकपाले जिल्ला प्रशासन कार्यालयहरुमा बुझाएको ज्ञापनपत्रमा भनिएको छ , “१० वर्षको जनयुद्ध र जन-आन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ संघीय राज्य प्रणाली स्थापना गरिएको छ । यसले एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभूत गर्न सकिन्छ । तर अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन । जस्ले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुबिधाहरु नागरिकता, परिचय पत्र र जग्गा किनवेच का लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । जुन समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको छ । यस बारे प्रधानमन्त्री ज्यूको विशेषरुपले ध्यानाकर्षण गराउन चाहान्छौं ।
अतः हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ की जनतालाई नागरिकता, जग्गा किनवेच, परिचय पत्र जस्ता कामहरु आगामी वर्ष देखि पालिका स्तरबाट उपलब्ध गराइयोस भन्ने माग सहित यो ज्ञापन पत्र जिल्ला प्रशासन मार्फत नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेस गर्दछौ। धन्यवाद ।”
नेकपाको केन्द्रीय कार्यक्रम अनुसार आज सबै देशैभरि यो ज्ञापनपत्र बुझाइएको छ ।