काठमाडौं । एक सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु हुनका साथै ५७ घाईते भएका छन् ।
बिहीबार टर्कीको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् ।
राज्य सञ्चालित टीआरटी प्रशारककाअनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो । राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीनवटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो । साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताउनु भयो । टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाइएको बताउनु भयो ।