कञ्चनपुर , चैत २६ : सुदुरपश्चिम प्रदेशको अग्रणी सहकारी संस्थाको रूपमा परिचित कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफनै उद्योगमा उत्पादित चामल बजारमा ल्याएको छ । जिल्लाको भीमदत्त नगरपालिकामा रहेको उदयदेव सहकारीले सुपथ मूल्यको चामलको बिक्री वितरण आजबाट सुरु गरेको हो ।
सहकारीले उदयदेव प्रशोधन उद्योगबाट उत्पादित चामल बिक्री गर्न सुरु गरेको छ । गरीब , किसान , मजदुर , निम्न तथा माध्यम वर्गीय समुदायलाई लक्षित गरी बजारको मूल्य भन्दा सस्तो मूल्यमा चामल बिक्री गर्न थालेको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले बताएका छन् । चन्दले हाललाई महेन्द्रनगरमा बिक्री केन्द्र खोलेको र आगामी डडेलधुरा र बैतडीमा शाखा कार्यालयमा पनि चामल पठाउने तयारी रहेको बताए । प्रबन्ध निर्देशक चन्दले भने ,“ पहिलो पटक हामीले सरकारले तोकेको प्रतिकिलो ३२ रुपैयाँका दरले किसानबाट २३ सय ५८ क्विन्टल धान खरिद गरी धनलाई प्रशोधन गरी चामल बनाइएको छ ।” बजारमा माध्यम खाले चामलको प्रतिकिलो ६० रुपैयाँ संग दर रहेको हुँदा पनि आफूहरूले ५३ रुपैयाँ प्रतिकिलो चामल बिक्री गर्न लागेको उनको भनाइ छ । आफूहरुको लागत खर्च करिब एक किलोको ५८ रुपैयाँ परे पनि अन्य माध्यमबाट व्यवस्थापन गर्ने गरी चामलको मूल्य न्यूनतम तोकिएको चन्दले बताए ।
सहकारीले उक्त उदयदेव प्रशोधन उद्योग सञ्चालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाई कञ्चनपुरको अनुदान तथा सहकारीको संयुक्त लागतमा उद्योग स्थापना गरिएको थियो । सहकारीले प्रशोधन केन्द्र सहित बिभिन्न उन्नत जातका बिउबिजन समेत उत्पादन गर्दै किसानलाई वितरण गरिरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय इकाई कञ्चनपुरका प्रमुख सन्जु रिमाल(जोशी)ले सहकारीले किसानबाटै धान खरिद गरेर उपभोक्तामाझ ताजा चामल ल्याएसंगै किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताईन । ‘जबसम्म कृषकले उत्पादन गरेको बस्तु सहजै बिक्रि वितरण हुँदैन, तबसम्म किसान जहिल्यै समस्या पर्छ, कञ्चनपुरमा यसरी चामल उत्पादन गर्ने उद्योग खुलेसंगै किसान लाभान्वित भएका छन, ‘उनले भनिन, ‘निम्न बर्गलाई समेत खरिद गर्न सहज हुनेछ ।’
कृषि मार्फत जनताको आर्थिक गतिबिधी समेत बृद्धि हुने भएकाले उद्योग र बिक्रि वितरण केन्द्र नियमित संचालनमा जोडदिईन । उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक चित्राङ्ग थापाले सहकारीले बागफाँटामा राखेको कष्टम हायर सेन्टर मार्फत किसानका लागि खनजोत, बिउबिजनदेखि उत्पादन गरेका बस्तु खरिद गर्दै प्रशोधन गरेर बजारमा चामल ल्याउने कार्यले स्वदेशी कृषि बस्तु तथा सेवाको बजार प्रर्बद्धन हुने बताए ।
‘हामी सीमावर्ती जिल्लामा बसेका छौँ, भारत लगायत अन्य मुलुकबाट आउने चामल गुणस्तरहिन हुन्छ, ‘उनले भने, ‘यो त ताजा र गुणस्तर हुन्छ, किसान र उपभोक्ता दुवैलाई लाभ हुदैछ ।’ उदयदेव बहुउदेश्यीय सहकारीका उपाध्यक्ष निरन्जन प्रशाद भट्टले जनताको आवश्यकता चाहना अनुरुप सहकारीले धान खरिददेखि चामल बिक्रि वितरणले स्वदेशी बस्तुले बजार पाउने बताए । उनले निकट भविष्यमा पहाडी जिल्लाहरुमा समेत चामल पठाईने छ । उदयदेव बहुउदेश्यीय सहकारीका अध्यक्ष नारा जोशीले सहकारीले किसान लक्षित योजना कार्यान्वयनबाट किसान र आम विपन्न समुदाय लाभान्वित हुने बताईन । अध्यक्ष जोशीले सहकारीले भावि दिनमा समेत थप कार्यक्रम संचालन गर्ने बताईन । यसरी उदयदेव सहकारीले विपन्न निम्न आय भएका उपभोक्ता हर्षित भएका छन ।














