घोराही : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले अहिलेको आर्थिक संकट र त्यसले मिडियामा परेको दुस्प्रभावका कारण नागरिक अधिकार संकुचित भएको बताएका छन।बुधबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिल सीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
विद्यमान आर्थिक- राजनीतिक संकटका कारण साना तथा स्वरोजगार मिडियामा गम्भीर नकारात्मक प्रभाव परेकोले यसले नागरिक आवाज र जनअधिकारको संकुचन भएको भन्दै नेता अनिलले यसबारे सरोकारवालाहरुले साझा योजना बनाएर अघि बढ्नुपर्ने बताए । “अहिले आर्थिक संकट छ, यसले मिडियाहरुले बिज्ञापन नपाएर टिक्न गार्हो छ,मिडिया कमजोर हुने भनेको नागरिकको आवाज कमजोर हुने कुरा हो” – नेता अनिलले भने-” नागरिक आवाज कमजोर हुने भनेको राज्य निरङ्कुश र फासीवादी हुने खतरा हुन्छ,यदि देशमा पश्चगमन र फासीवाद अगाडि आयो भने हामीले ठूलो मुल्य चुकाउनु पर्नेछ।”
बर्तमान आर्थिक संकट र त्यसले मिडियामा पारेको प्रभाव बिषयक अन्तर्कृयालाई सम्बोधन गर्दै नेता अनिलले अहिलेको आर्थिक संकटको कारण नागरिकको जीवनस्तर थप कस्टकर बनेको , यसको दिगो समाधानका लागि ब्यापार बिबिधिकरण गर्ने र उत्तरतिरको नाका खोल्न राज्यले पहल गर्नुपर्ने बताए ।
उदारीकरणका कारण देशको अर्थतन्त्र धरासायी भएको तर्फ संकेत गर्दै उनले उदारीकरण र नीजिकरणका नाममा देशमा दलाल पुँजी हाबी भयो, केही नेताहरुले चुनाव लड्ने खर्च पाए, बिदेशीहरुको सहयोगमा दलहरू सरकारमा टिक्ने स्थिति बाहेक जनतालाई कुनै फाइदा नभएको टिप्पणी गरे।
पञ्चायतमाकालमा राजनीतिकरणकै कारण सार्वजनिक उध्योगहरु समाप्त भएको भनेर एकथरी मानिसहरुले भनिरहेको भएपनि मुख्य कारण त्यो नभएको तर २०४६ पछि उदारीकरणको नाममा बिश्व बैंकको योजना अनुसार नेपालको अर्थतन्त्रको संरचना बनाइएकोले अहिलेको आर्थिक संकट र परनिर्भरताको समस्या आएको बताए ।
अन्तर्कृयामा नेकपा नेताहरु सबिन सी, सम्झना सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, नेकपा केन्द्रिय सदस्य प्रदिप सी, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल के सी लगायतको सहभागिता रहेको थियो।
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार जङ्ग रेउलेले गरेका थिए।














