कञ्चनपुर, असोज २७ : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनताका वास्तविक समस्या तथा पीरमर्का बुझ्ने र जनतासँग पार्टीलाई जोड्न समाजवादी जागरण अभियान सञ्चालन गरेको बताएका छन् । शनिबार जिल्लाको महेन्द्रनगरमा भएको समाजवादी जागरण अभियानको औचित्यलाई औंल्याउँदै सो कुरा बताएका हुन् ।
महेन्द्रनगरको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनतालाई सम्मानपूर्वक जीवन यापन गर्नको लागि पहिलो कुरा रोजगारी चाहिने बताए । उनले नेपालको उद्योग , जलविद्युत र पर्यटन जस्ता विषयलाई राज्यले प्राथमिकताका साथ लिएर रोजगारी सृजना गर्नुपर्नेमा जोड दिए
। उनले पछिल्लो समयमा युवाहरु दिनहुँ विदेशी रहेको कुरालाई जिकिर गर्दै बिदेसिएका युवाहरुको लास मात्रै फर्किरहेको बताए । देशमै युवाहरुलाई बस्न वातावरण सृजना गर्ने आफ्नो पार्टीले सरकार र राज्यका सबै निकायमा पहल र समुन्वय गर्ने उनको भनाइ थियो ।
महेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु घनस्याम भुसाल, जगन्नाथ खतिवडा लगायतले मन्तव्य राखेका थिए ।
शनिबार कञ्चनपुरमा समाजवादी जागरण अभियान अन्तर्गत जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास प्याराताल सीमा, पुर्नबास, बेलौरी, आरक्षपीडित बस्ती ढक्का शिबिर, कलुवापुर, झलारी, दैजी हुँदै महेन्द्रनगरमा कार्यक्रम सम्पन्न गरेको छ ।