३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

पार्टी एकता गर्न माओवादी केन्द्र नाम फेर्न तयार भएकै हो ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि विशेष पहल गरिरहेको छनक दिएको छ । तर, कुन पार्टीसँग एकता गर्दै छ ? भन्ने अहिलेसम्म खुलेको छैन ।

माओवादीले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँग एकताका लागि पहल गर्दै आएको थियो । तर, पछिल्लो समय यी सबै पार्टीसँग एकताको सन्दर्भमा ब्रेक लागेको थियो ।

एकताका लागि भएका प्रयासहरूबाट सकारात्मक परिणाम निकाल्न नसकेको माओवादीले एकताका पहलहरू तत्कालका लागि थाती राखेको थियो । तर, भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकले बिचार मिल्ने पार्टीहरूसँग एकताका लागि पार्टीको नाम फेर्न तयार रहेको निर्णय गर्दै तल्लो समितिसम्म सर्कुलर गरेको छ ।

गत साउन १७–२१ मा केन्द्रीय समिति बैठक सम्पन्न गरेको माओवादीले केन्द्रीय समिति बैठकमा पार्टी एकता र नाम परिवर्तनबारे ठोस छलफल र निर्णय गरेको थिएन । तर, केन्द्रीय समितिको बैठक लगत्तै बसेको कार्यालय बैठकले पार्टीको नाम नै परिवर्तन गर्न तयार रहेको निर्णय गर्नुले माओवादी तत्कालै कुनै पार्टीसँग एकता गर्न तयार रहेको बुझिएको छ ।

केन्द्रीय कार्यालयको बैठकपछि जारी सर्कुलरमा पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेका छन् । उक्त सर्कुलरमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र हटाउन सकिने उल्लेख छ ।

सर्कुलरमा भनिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

पार्टीको नाम परिवर्तन गर्न तयार रहेको निर्णय गरेको माओवादीले यस विषयलाई विशेष महाधिवेशनबाट टुङ्गो लगाउन सकिने भनेको छ ।

माओवादीले यसअघि नेकपा एकीकृत समाजवादीसँग एकताका लागि नाम परिवर्तन गर्न तयार रहेको बताएको थियो । त्यसपछि, नेपाल समाजवादी पार्टी र नेकपासँग एकताका लागि नामको सन्दर्भमा लचक रहेको बताउँदै आएको थियो ।

लचकताका साथ पार्टी एकताका लागि तयार हुँदै आएको माओवादीले यस बिचमा कुनै पार्टीसँग पनि एकता गर्न सकेको छैन । तर, पछिल्लो समय नेसपा र नेकपासँग एकताका लागि छलफल अन्तिम चरणमा पुगेको बताइएको छ ।

एक नेताका अनुसार अहिलेकै अवस्थामा एकीकृत समाजवादीसँग एकताको सम्भावना कम छ । उनले भने– ‘एकीकृत समाजवादीसँग एकताको सम्भावना अहिलेकै अवस्थामा कम छ । बरु, नेसपा र नेकपासँग एकताको पहल अन्तिम चरणमा पुगेको हो । तत्कालै एकता भए यी दुई पार्टीसँग हुन्छ । तर, हालसम्म नेतृत्वले यस विषयमा स्पष्ट पारेको छैन ।’ केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै माओवादीले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको छ । नेता कार्यकर्ता गाउँ गाउँ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?