काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद ढाकाकुमार श्रेष्ठले पोल खोले पछि पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
बुधबार पार्टी प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति निकाल्दै मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान सुरु गरिएको बताएका छन् ।
गएको चैतमा रास्वापाका सांसद श्रेष्ठ र मेंडिकल व्यवसायी दुर्गा प्रसाईंको एक अडिओ सार्वजनिक भएको थियो । उक्त अडिओमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम मागेको सुनिन्थ्यो । त्यसपछि श्रेष्ठले उक्त अडिओ आफ्नो नभएको दाबी गरेका थिए ।
तर केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा उनले थापा कोर टिमको सदस्य रहेको र मन्त्री बनाइदिन्छु भनी आफूसँग तीन करोड रुपैयाँ मागेको आरोप लगाएका थिए। ढाकाकुमारले उक्त आरोप लगाएपछि छानबिन प्रक्रिया अघि बढाइएको प्रवक्ता ढकालले बताएका छन्।
ढाकाकुमारले मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपश्चात् पार्टीको केन्द्रीय अनुशासन आयोगले उक्त टेप प्रकरण मौखिक सोधपुछ र स्पष्टीकरण सोधी अनुसन्धान गरेकोमा त्यसताका ढाकाकुमारले आफूलाई पार्टीले साथ नदिए पार्टीका सदस्यलाई पोल्दिन्छु भनी धम्की दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यसबेला सोधपुछ गर्दा ढाकाकुमारले पार्टीले पैसा नमागेको तर मेडिकल व्यवसायीसँगको संवाद भने स्वीकार गरेको पनि विज्ञप्तिमा भनिएको छ।














