काठमाण्डौ । प्रधान मन्त्री पुष्पकमल दाहाल ले भारतको नयाँ संसद भवनमा अवस्थित भारतीय नक्सामा नेपालको भूभागको नाम समेटिएको विषयमा केही नबोले पछी नेपालमा भइरहेको प्रदर्शनबारे पनि थाहा नभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन् ।
शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार भएको वार्तामा उक्त विषयमा कुनै पनि कुरा नउठाएको वताएका हुन् ।
‘यो विषयमा हिजोको भारतीय विदेश सचिवको प्रेस ब्रिफिङमा पनि यो कुरा उठेको थियो। उहाँले नै नेपाली पक्षले यो विषय नउठाएको बताउनुभयो,’बाग्चीले भने,‘नेपाली पक्षले कुरा नउठाएकाले नेपालमा यसको विषयमा प्रदर्शन भइरहेको छ कि छैन भन्ने मलाई जानकारी भएन ।’
भित्तेचित्रबारे पाकिस्तानले पनि आधिकारिक विरोध गरेको आफूलाई थाहा नभएको उनले बताए ।
‘म एउटा कुरा भन्न चाहन्छु। जुन भित्तेचित्रबारे विवाद भइरहेको छ त्यसले अशोक साम्राज्यको विस्तारलाई देखाउँछ,’उनले भने,‘त्यो भित्तेचित्र राख्नुको अर्थ सम्राट अशोकले अपनाएको जिम्मेवार र नागरिक लक्षित शासनलाई देखाउनु मात्र हो।’
गत साता उद्घाटन भएको भारतको नयाँ संसद भवनको भित्तामा कोरिएको चित्रमा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएको भन्दै नेपालमा विरोध भइरहेको छ ।














