कञ्चनपुर , जेठ ०८ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुर जिल्ला समितिको पाँचौं जिल्ला भेला सम्पन्न भएको छ । सोमबार जिल्लाको महेन्द्रनगरमा भएको संगठनको भेलाले भरत सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।
नेकपा केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले अबको वैकल्पिक राजनीतिक व्यवस्था एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवाद रहेको बताएका छन् । भेलालाई सम्बोधन गर्दै नेता विराटले जनताका मर्म र भावना विपरीत कुट मच्चाइरहेको दलाल संसदीय व्यवस्थाको जनताको सत्ता वैज्ञानिक समाजवाद भएको बताएका हुन् ।
उनले भने , “ आज केन्द्रीय राजनीतिमा पनि एक खालको समाजवादको विषयमा बहस चलिरहेको छ र विभिन्न राजनीतिक दलका नेताहरु अहिलेको संकटपूर्ण व्यवस्थाको निकास दिनुपर्नेमा पुगेका छन् ।”सबै दलको एजेण्डा समाजवाद भएको स्थितिमा शान्तिपूर्ण तरिकाले देशलाई समाजवाद तर्फ लैजान सकिने उनले बताए ।
सम्बोधनका क्रममा इन्चार्ज विराटले वर्तमान सत्ता र व्यवस्थाले जनताको हक र अधिकार ग्यारेन्टी नगरेको बताउँदै जनताको भविष्य सुनिश्चित गर्न सबैले एक चोटी संघर्षको मोर्चामा होमिनु पर्ने बताए । हामी हिंसा चाहेर होइन शान्तिपूर्ण ढंगले सबै संग छलफल र बहस मार्फत यो संकटको निकास दिन चाहन्छौं त्यसको लागि हाम्रो पार्टी तयार छ, नेकपा नेता विराटले भने ।
विद्यामान राज्यका विभिन्न निकायमा देखिएका बेथिति , विकृति , भ्रष्टाचार ,अनियमितता लगायतका विषयमा युवा संगठनले निर्मम भएर लगुनुपर्ने बताउँदै भेलाबाट नवनिर्वाचितलाई उनले बधाई तथा शुभकामना समेत दिए ।
अध्यक्ष भरत सि ले जनताका मुद्दामा केन्द्रित रहेर युवा संगठनले आफ्ना गतिविधि अगाडि बढाउने बताए । हाम्रो संगठनले समाजमा उत्पीडित वर्गको हितका लागि कार्य गर्ने समेत उनले बताए ।

युवा संगठनको पाँचौं भेलाले अध्यक्षमा भरत सी, उपाध्यक्षमा हिक्मत सी, सचिवमा सुरेश सी, सहसचिवमा दिनेश सी, कोषाध्यक्षमा निर्मला सी लगायत २१ सदस्यीय जिल्ला समेत चयन गरेको छ । जया सी को अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अथिति नेकपा केन्द्रिय सदस्य तथा कञ्चनपुर इन्चार्ज विराट सी, अथिति जिल्ला सचिव दिवार सी लगायत अन्य जबस् मोर्चाका केन्द्रीय तथा ब्युरो स्तरीय नेता कार्यकर्ताको सहभागिता थियो ।





