भक्तपुर । क्यान्सर बिरामीहरूका लागि एक सन्देशसहितको सुखद खबर आएको छ। भक्तपुर क्यान्सर अस्पतालले टाउको तथा घाँटी क्यान्सरविरुद्धको दिवसको अवसर पारेर विभिन्न नयाँ सेवा विस्तार गर्दै उपचार र जनचेतनालाई थप सशक्त बनाउने लक्ष्य अघि सारेको छ ।
हरेक वर्ष जुलाई २७ तारिखमा मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा अस्पतालले आज (आइतबार) विशेष कार्यक्रमको आयोजना गर्यो। क्यान्सर विजय हासिल गरेका व्यक्तिहरू र अस्पतालका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा समयमै उपचार र समाजमा चेतना फैलाउने उद्देश्यले विभिन्न सेवाहरूको घोषणा गरियो।
अस्पतालले नयाँ रूपमा दन्त तथा मुख रोग विभाग र स्तन क्यान्सर उपचारका लागि छुट्टै वार्ड सुरु गरेको छ। साथै, क्यान्सर उपचारको क्रममा उत्पन्न हुने मानसिक तनाव र असहजता सम्बोधन गर्न मानसिक तथा मनोपरामर्श सेवा समेत सञ्चालन गर्ने घोषणा गरिएको छ।
कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले भने, “हामी केवल उपचारमा केन्द्रित छैनौँ, हामी बिरामीको मनोबल र मानसिक स्वास्थ्यप्रति पनि गम्भीर छौँ।”
त्यसैगरी, अस्पतालले प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरीका लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको छ, जसअन्तर्गत जटिल क्यान्सर अपरेसनपछिका शारीरिक अंगहरूको पुनःनिर्माण (reconstruction) सम्भव हुनेछ।
साथै, स्पिच एन्ड स्वालोविङ थेरापी सेवा सुरु गरिएको छ, जुन रेडिएसनपछि बोल्न र निल्न गाह्रो हुने बिरामीहरूका लागि अत्यन्त उपयोगी हुने बताइएको छ। पहिलोपटक दन्त उपचार सेवा (डेन्टल ओपीडी) पनि सुरु गरिएको छ, जसका लागि स्वास्थ्य मन्त्रालयबाट विशेषज्ञ डाक्टरहरू उपलब्ध गराइएको छ।
डा. चालिसेले नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या गम्भीर रहेको उल्लेख गर्दै भने, “धेरैजसो यस्ता क्यान्सरहरू समयमै पत्ता लागेमा उपचार सम्भव हुन्छ तर चेतनाको अभाव,सामाजिक लाज र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अभावले गर्दा बिरामीहरू ढिलो अस्पताल आइपुग्ने गरेका छन् ।”
उनले सरकार,स्वास्थ्यकर्मी,सञ्चारकर्मी र सबै सरोकारवाला निकायहरूलाई मिलेर क्यान्सरविरुद्धको यो लडाइँमा अग्रसर हुन आह्वान गरे । कार्यक्रममा सहभागी क्यान्सर विजेताहरूलाई सम्बोधन गर्दै उनले भने,”तपाईंहरूको जितले हामीलाई देखाउँछ कि क्यान्सरलाई जित्न सकिन्छ । तपाईंहरू बिरामी मात्र होइन,आशाका प्रतिनिधि,चेतनाका दूत र परिवर्तनका अगुवा हो।”
भक्तपुर क्यान्सर अस्पतालको यो सेवा विस्तारसँगै क्यान्सरविरुद्धको लडाइँमा नयाँ आशाको ढोका खुलेको छ।



