काठमाडौं– जनमत पार्टी अध्यक्ष डा.सिके राउतले आफ्ना दाजु डा.जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्षमा मनोनीत गरेपछि पार्टीभित्र तीव्र असन्तोष चर्किएको छ । यसअघि नै संगठन विभाग प्रमुख र राष्ट्रिय परिषद्का अध्यक्ष रहेका जयकान्तलाई फेरि शीर्ष पद दिइएपछि खुला परिवारवादको आरोप लागेको हो । पार्टीका स्थायी समिति सदस्य दीपक साहले प्रेस विज्ञप्ति जारी गर्दै नेतृत्वमा परिवार केन्द्रित निर्णय संस्थागत राजनीतिमाथि प्रहार भएको बताएका छन् ।
उनले संघर्ष र समर्पणको आधारमा पद बाँडफाँट हुनुपर्ने माग गरेका छन् । साहले अर्को उपाध्यक्षमा मनोनीत दानबहादुर चौधरी उपाध्यक्ष नरेन्द्र चौधरीका दाजुको नियुक्तिलाई पनि पार्टी मूल्य र आदर्शमाथिको धक्का भनेका छन् । उनले समर्पित नेताहरूको उपेक्षा भइरहेको भन्दै पार्टीभित्र आत्मसमीक्षा र सुधारको खाँचो औँल्याएका छन् ।



