काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्ने आदेश दिएको छ । योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दाको बुधबार बयान र थुनछेक बहस सकिएलगत्तै उनलाई धरौटीमा छाड्ने आदेश आएको हो । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
बहसमा अख्तियारका तर्फबाट निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सकारी वकिलको कार्यालय प्रमुख मोहन सागर बस्याल, भगवनी देवी गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।
त्यस्तै नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए । बहसमा थापासहितले माधव नेपालले भ्रष्टाचार नगरेको र मन्त्रिपरिषद्को निर्णय भएकाले उनलाई आरोपित भन्नु गलत भएको धारणा राखेका थिए ।



