काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार सिंहदरबारभित्र गरेको प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेको थियो । प्रहरी परिसरका प्रमुख एसपी अपीलराज बोहराका अनुसार, सोही दिन साँझ सबैलाई छोडिएको हो ।
रिहा हुनेहरूमध्ये अध्यक्ष लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चा अध्यक्ष कैलाश कटवाल रहेका छन् । सिंहदरबार क्षेत्र सरकारको उच्च सुरक्षा घेराभित्र पर्छ । सो क्षेत्रमा अनुमति बिना प्रदर्शन गर्न नपाइने भए पनि राप्रपाले त्यहीँ प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । राप्रपाले सरकारविरुद्ध आक्रोश जनाउँदै भ्रष्टाचार, बेथिति र महँगीविरुद्ध आन्दोलन गर्दै आएको छ ।