भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले डिजिटल पत्रकारिता र कृत्रिम बुद्धिमत्ता (एआई) विषयक एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ ले भक्तपुरको पत्रकारिता विकासका लागि नगरपालिकाले निरन्तर काम गरिरहेको बताए। उनले डिजिटल युगमा सञ्चारकर्मीहरूको सीप अभिवृद्धि गर्न कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै, लोकतन्त्र संरक्षणका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव राम प्रसाद दहाल ले डिजिटल पत्रकारिताको वर्तमान सन्दर्भमा पत्रकारहरू स्वयं प्रविधिमा अभ्यस्त हुनुपर्ने बताए। उनले नेपालमा पत्रकारिताको गुणस्तर उकास्न डिजिटल प्रविधि र एआईको प्रभावकारी प्रयोग आवश्यक रहेको धारणा राखे।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार ले भक्तपुरका सञ्चारकर्मीहरूलाई नयाँ प्रविधिसँग अभ्यस्त गराउन कार्यक्रम सञ्चालन गरिएको बताए। उनले डिजिटल पत्रकारिताको विकासका लागि थप उन्नत तालिमहरू आयोजना गरिने जानकारी गराए।
अभिमुखीकरणमा डिजिटल पत्रकारिता सम्बन्धी प्रशिक्षण विरेन्द्र धामी ले र एआईसम्बन्धी प्रशिक्षण जिवन भण्डारी ले दिएका थिए। कार्यक्रमले भक्तपुरका सञ्चारकर्मीहरूलाई डिजिटल युगसँग तालमेल मिलाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।














