काठमाडौं । चन्द्रागिरि हिल्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष करिब दोब्बर भएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा ९९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्ष २२ करोड ३३ लाख रुपैयाँ कमाएको छ । आम्दानी बढ्नु र वित्तीय लागत घट्दा कम्पनीको नाफा उल्लेख्य बढेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा सञ्चालन आम्दानी ९१ करोड ३४ लाख गरेकोमा गत आर्थिक वर्षमा १ अर्ब पुग्यो । त्यस्तै वित्तीय लागत अघिल्लो आर्थिक वर्षमा २८ करोड ५० लाख रहेकोमा गत आर्थिक वर्ष २३ करोड १७ लाख मात्रै रह्यो ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि दोब्बर भएको छ । अघिल्लो आर्थिक वर्षमा ७ रुपैयाँ ३० पैसा रहेको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा १४ रुपैयाँ ५६ पैसा छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ३९ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १२३९ रुपैयाँ छ ।