कञ्चनपुर, १८ साउन : कञ्चनपुर पुनर्वासका स्थानीयले मातृभूमि रक्षाका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाललाई जमिन दान गरेका छन । पुनर्वास नगरपालिका ८ खड्डाकंकड ओझा परिवारले सशस्त्र प्रहरी बल नेपाललाई जमिन दान गरेका हुन ।
सीमावर्ती खड्डाकंकड गाँउका सिद्धराज ओझाले सशस्त्र प्रहरी बललाई बोर्डर आवट पोष्ट (बिओपी) बनाउन ५ कट्टा जमिन दान दिएको हो ।
बिओपी स्थापनार्थका लागि निःशुल्क जमिन दिएका सिद्धराज ओझाले मातृभूमि रक्षार्थ सशस्त्र प्रहरीको कार्यालय स्थापनार्थका लागि लालपुर्जावाला जमिन दिएको बताए । ‘हाम्रो पुनर्वास सहित जिल्लाभरी सीमा अतिक्रमण हस्तक्षेप जस्ता गतिबिधी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी चाहिन्छ, ‘नेपाली भूमि रक्षार्थका लागि सशस्त्र प्रहरीलाई पैतृक सम्पतीबाट जमिन दिएको हुँ, म संग जमिन बढि भएर दिएको होईन, त्यहाँ सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीले रेखदेख गर्छ भनेर दिएको छु ।’
ओझा कुनै नेता व्यवसायी नभई समान्य नागरिक हुन । उनले बिओपी स्थापना भएपछि मातृभूमिको रक्षा हुने अपेक्षा राखेका छन । ‘मैले पाँच कट्टा सशस्त्र प्रहरीको नाममा नामसारी गरिसकेको छु, ‘उनले भने, ‘पहिलोदेखि मेरा बाबुले पनि समाजसेवा गर्दै आएको प्रेरणाले मैलेपनि राष्ट्र र जनताका लागि केही गर्न सकिन्छ, भनेर सक्दो सहयोग गरेको छु ।’
भारतीय पक्षबाट कञ्चनपुरको पुनर्वास सहित जिल्लाका विभिन्न स्थानको नेपाली भूमिक हडप्नेदेखि हस्तक्षेप जस्ता गतिबिधी बढाउन थालेपछि नेपाल सरकारले पनि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाउने योजना अन्र्तरगत पुनर्वास नगरको खड्डाकंकडमा पनि बिओपी बनाउने योजना अघि सारेको छ । खड्डाकंकडमा सशस्त्र प्रहरीसंग आफ्नै जमिन नहुँदा बिओपी निर्माण कार्य अघि बढ्न नसकेको अवस्थामा अब ओझा परिवारले जमिन दिएसंगै अघि बढ्ने सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणश हेक्वा शैलेश्वरीका इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले ओझा परिवारले निःशुल्क पाँच कट्टा जमिन उपलब्ध गराएसंगै अब बिओपीको घर निर्माण कार्य अघि बढने बताए । अहिलेपनि खड्डाकंकडमा बिओपी भएपनि आफ्नै घर नभएको उनले बताए । ‘हामीलाई जमिन उपलब्ध भएको छ, अब हामी त्यहाँ बिओपी स्थापना गछौँ, ‘उनले भने, ‘सीमा सुरक्षा र सीमा अपराध नियन्त्रणमा थप मदत पुग्छ ।’ सशस्त्र प्रहरीका एसपी चन्दले उक्त जमिन उपलब्ध गराउने ओझा परिवार, पुनर्वासका मेयर तोया प्रशाद शर्मा सहितका सरोकारवाला निकायबाट समन्वय भएको बताए ।
शुक्रबार सशस्त्र प्रहरी बल शैलेश्वरी गणको २१ औँ स्थापना दिवसमा जमिन दान दिने पुनर्वासका स्थानीय नागरिक सिद्धराज ओझालाई सम्मान गरेको छ । ओझालाई सम्मान पत्र हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) दिपक अधिकारीले सीमा सुरक्षाका लागि नागरिक स्तरबाट समेत भूमिका रहेको भन्दै जमिनदाता ओझाप्रति आभार प्रकट गरेका छन । डिआईजी अधिकारीले सीमा सुरक्षा, अपराध न्यूनिकरणका लागि नागरिक सशस्त्र प्रहरी मिलेर अघि बढ्नुपर्नेमा जोडदिए ।
भारतसंग प्रत्यक्ष सीमा जोडिएको पुनर्वास नगरमा भारतीय पक्षबाट पटक पटक सीमा अतिक्रमणदेखि हस्तक्षेप गर्दै आएपछि स्थानीय हैरान भएका छन । २६ फागुन ०७३ सालमा पुनर्वास ४ आनन्द बजारमा ह्युपाईप राख्ने क्रममा भारतीय पक्षबाट गोली प्रहार गरेर नेपाली नागरिक गोबिन्द गौतम मारिएको घटनापछि पुर्नवासमा घमाधम सशस्त्र प्रहरीको उपस्थिति बढिरहेकोछ । पुनर्वासमा सशस्त्र प्रहरीको उपस्थिति विस्तारसंगै सीमा विवाद, अपराध न्यूनिकरण हुदै गएका छन ।
भारतसंग जोडिएको कञ्चनपुरको १२९.५ वर्गकिलोमिटर क्षेत्रफलमा शैलेश्वरी गण सहित सीमा क्षेत्रमा ३ गुल्म, १७ बिओपी, १ बेस, ३ फरवार्डबेस गरेर २५ स्थानमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । झण्डै दशक अघि बेलौरी र दोधारामा मात्रै बिओपी अहिले जिल्लाभरी सीमा क्षेत्रमा विगत भन्दा अहिले सशस्त्र प्रहरीको दरिलो उपस्थिति छ । यस्तै बार्षिकोत्सव कार्यक्रममा रक्तदान, बृक्षारोपण, सार्वजनिक क्षेत्रमा सरसफाई गरिएको थियो । बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुर्व भलिबल, ब्याडमिन्टन, दौड, हाजिरी जवाफ प्रतियोगिता, सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यक्रममा बिजेता, पुर्व सशस्त्र प्रहरीलाई सम्मान पुरस्कार वितरण गरिएको छ ।
सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दको अध्यक्षतामा सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) दिपक अधिकारीको प्रमुख आथित्यमा भएको कार्यक्तमको संचालन सशस्त्र प्रहरी निरीक्षक समिर भट्टले गरेका थिए । कार्यक्रममा सुरक्षा निकाय, सरकारी, नागरिक समाज, जनप्रतिनिधीको सहभागिता रहेको थियो ।