केही दिन यता चर्चा चल्दै थियो कि समाजवादी मोर्चा नेपालमा नेकपा एमाले पनि सहभागी होला की नहोला भनेर ? एमालेलाई मोर्चामा सहभागी गराउन मोर्चाका संयोजक विप्लव सी ले समेत भेटघाट गरेका थिए । हिजो बिहान बसेको समाजवादी मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले केपि ओली संग एमालेलाई मोर्चामा आबद्ध गराउन आबस्यक छलफल गर्ने निर्णय समेत गरेको थियो
तर एमालेले मोर्चामा सहभागी नहुने बताएको बताए सँगै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले सत्तारुढ नेकपा एमाले नआएपनि समाजवादी मोर्चामा कायम रहने बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मोर्चामा आवद्ध नहुने बताएको केहीबेरमै भुसालको उक्त प्रतिक्रिया आएको हो । वामपन्थी र समाजवादी पार्टी हुनुका नाताले एमाले आउनु राम्रो हुने भएपनि ऊ नआए पनि मोर्चा कायम रहने उहाँले प्रष्ट पार्नुभयो ।
समाजवादी मोर्चा विगतमै बनेको उल्लेख गर्दै उपाध्यक्ष भुसालले सत्ता समिकरण फेरिएपछिको अवस्थामा मोर्चाप्रति एमाले भ्रमित रहन नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेसँग छलफल गरेपछि समाजवादी मोर्चा अझै वृहत हुनसक्ने बताउनुभयो ।
एमालेसँग सत्ता सहकार्य भइरहेकाले मोर्चामा नआएपनि आपसी समझदारी भने कायम रहने उहाँको भनाई छ । उपाध्यक्ष भुसालले समाजवादी मोर्चामा आवद्ध पार्टीहरुका बीचमा नीति, कार्यक्रमहरुमा सहमति बन्दै गएमा एकताको तहसम्म पुग्नेसमेत बताउनु भएको छ ।
मोर्चाले समाजवादको आधार तयार पार्ने र सो प्रकारको नीति, कार्यक्रम बनाउने उद्देश्य अनुरुप काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष भुसालले आम जनतालाई समाजवादको आन्दोलनमा संगठित गर्ने साझा मोर्चाको रुपमा समाजवादी मोर्चा रहेको प्रष्ट पार्नुभयो ।
आगामी दिनमा वाम ध्रुविकरण गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने आधार तयार गर्नुपर्नेमा उहाँको जोड छ ।














