कञ्चनपुर , चैत ०८ : पूर्व देखि पश्चिमसम्म देशभर राष्ट्रिय मुक्ति अभियानमा रहेका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले देशको शासन अप्राकृतिक ढंगले चलिरहेको बताएका छन् । बिहीबार कञ्चनपुरमा राष्ट्रिय मुक्ति क्रान्ति महेन्द्रनगर ब्युरो द्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महतोले विद्यमान अवस्थामा देशमा एकल शासन रहेको जिकिर गरेका हुन् ।
पूर्व उपप्रधानमन्त्री महतोले नेपालको शासन सत्तामा अहिले एकै जाति समुदायको मात्र प्रतिनिधित्व रहेको बताएँ । उनले भने , “ नेपालको संविधानले बहुजातीय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक विशेषतायुक्त लोकतान्त्रिक संघीय व्यवस्था स्वीकार गरे पनि यथार्थतामा त्यो विद्यमान छैन ।”संविधानले बहुलतालाई माने पनि त्यसका मूल्य र मान्यतालाई तथा बहुलवादका अन्तरवस्तुलाई यो संविधानले समेटेन् र संविधान एकल नस्लिय राजनीतिक चिन्तनबाट निर्माण भयो , महतोले भने । अहिले पनि मधेसी ,जनजाति , थारु ,दलित अन्य तमाम वर्गले अधिकार सहितको राज्य सत्तामा पहुंच विस्तार गर्न नसकेको जिकिर गरे ।
‘हिजो पृथ्वीनारायण शाहले राज्य विस्तार नगर्दा सम्म सबै जाति वर्ग लिंगको पहिचान थियो तर अहिले सत्ताका केन्द्रमा त्यही ओली, दाहाल र देउवा छन् । सबै जाति समुदायको पहिचान यो राज्यले स्वीकार गर्दैन बरु दमन गरेको छ । यो शासन सत्ताको अन्त्य गर्न बहुलराष्ट्रबाद स्थापना गर्नु पर्ने महतोको भनाइ छ। उनले प्रश्न गर्दै भने हाम्रो स्वदेशबाद खै ? सबै विदेशी चलखेलमा देश चलेको छ , सबै विदेशी विचार सिद्धान्तहरू हामीले अंगालेका छौं । त्यसैले नेपालमा अब स्वदेशवाद र सामुदायिक समाजवाद स्थापना गर्न आबस्यक छ , महतोले बताए ।
देशमा पटक पटक शासन र संविधान फेरिएपछि जनताको मुहार नफेरिएको उनको भनाइ छ । देशको राजनीतिक संकटको समाधान गर्न नयाँ क्रान्तिको मार्गमा तय गर्नुपर्ने महतोको जिकिर छ ।
महतो केही समय अगाडि लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर अहिले पूर्वको झापा देखि पश्चिमको कञ्चनपुर सम्म राष्ट्रिय मुक्तिको अभियानमा छन् । महतो अहिले राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियानका संयोजक हुन् ।














