कञ्चनपुर ,चैत १ : नेकपा एमालेको नवौं कञ्चनपुर जिल्ला महाधिवेशन उदघाटन गर्न महेन्द्रनगर पुगेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सत्ता बाहिर हुँदा तड्पिरहेको बताएका छन् । उनले पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको नयाँ सत्ता समीकरणका कारण नेपाली कांग्रेस सत्ता बाहिर बस्नु परेकोमा छटपटाहटमा रहेको बताएका हुन् ।
जिल्ला पार्टीको अधिवेसनमा प्रमुख अतिथि रहेका ओलीले सम्बोधनको बढी समय कांग्रेस प्रति कटाक्ष गर्दै बिताए । उनले भने ,“हामी हिजो दुई महिनामा सत्ता बाहिर बस्दा पनि सबै संग हाँसेरै , बोलेरै खुसीका साथ प्रतिपक्षमा बसेका थियौं तर अहिले कांग्रेस सत्ता बाहिर हुँदा आफूलाई एकदम इमान्दार पार्टीको रुपमा चित्रण गरेको देख्दा अचम्म लाग्छ ।”ओलीले कांग्रेस सरकारमा हुँदा एउटा पनि राष्ट्रिय महत्वको योजनामा योगदान पुग्ने किसिमको काम नगरेको बताए । मैले संसदमै नेपाली कांग्रेसका सभापति देउवालाई चुनौतीका साथ तपाईं पाँच पटक प्रधानमन्त्री हुँदा के के काम गर्नु भयो बताउनुहोस् भन्दा उहाँले एउटा पनि भन्न सक्नु भएन तर म नेकपा एमालेको सरकार हुँदा के के भए भनेर कुनै कागज नहेरी १०० भन्दा बढी काम भन्न सक्छु , उनले भने । मेची देखि महाकाली सम्म एमाले नेतृत्वको सरकार हुँदा सडक देखि पुल सम्म सयौ काम भएको ओलिको दाबी थियो ।
पूर्व प्रधानमन्त्री ओलीले अहिलेको सरकारले धेरै नभए पनि केही हद सम्म राम्रा काम गर्ने बताए । उनले भने ,“अहिले संयुक्त सरकार छ सबै राम्रो गर्छ त हामी भन्दैनौं किनभने धेरै पार्टी छन् सबैले राम्रो गर्छन भन्ने हुँदैन तर अघिल्लो सरकार भन्दा अहिलेको सरकारले राम्रो गर्छ किनभने अहिले एमाले पनि सरकारमा सहभागी छ ।”
आजै अध्यक्ष केपि ओलिले वडा कार्यालय भवन देखि शिक्षालयको भवन सम्म उदघाटन गरेका छन् । उनलाई कञ्चनपुर उद्योग वाणिज्य संघले पर्यटन महोत्सव तथा औद्योगिक व्यापार मेला समापनको सन्दर्भमा १५ किलोको माला हालेर अभिनन्दन समेत गरेको हो ।














