पछिल्लो समय सामाजिक सञ्जाल तथा मिडीयामा संसदीय दलहरुको गठबन्धन बन्ने – भत्कने श्रृङखलाले स्थान पाएको छ । विषेशगरी सत्ताको लागि दलहरु यतिबेला अस्वाभाविक समीकरणमा केन्द्रित छन् जसको मुख्य केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) छन् । प्रचण्डले चुनाव यता मात्रै नेपाली कांग्रेस र नेकपा एमाले लगायत दलहरु संग गरिएको गठबन्धन तोड्नु र जोडिनु लाई नेपाली राजनीतिमा अलि फरक ढंगले हेरिएको छ । प्रचण्डका यी पछिल्ला कदमलाई विभिन्न व्यक्तित्वले सत्ता स्वार्थका नाम दिएका छन् भने स्वयं प्रचण्डले भने देशको सुशासन र समृद्धिको आबस्यकता बताउँदै आएका छन् ।
तर संसदीय राजनीति भन्दा फरक बाटोमा रहेका नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) भने यतिबेला जुम्लामा स्याउ रोप्नमा व्यस्त छन् उनको यो विषय भने ओझेलमा जस्तो देखिन्छ ।
देशमा विद्यमान रहेको संसदीय व्यवस्थाले जनताको मुक्ति नदिने भन्दै क्रान्तिको मार्गमा हिँडेका तिनै विप्लव पछिल्लो समय उत्पादन र आत्मनिर्भरता बिना क्रान्तिलाई गति दिन नसकिने निष्कर्षमा छन् । सोही उद्देश्य अनुरुप उनले पार्टीको उत्पादन नीति अन्तर्गत देशका विभिन्न ठाउँमा धेरै उत्पादनका केन्द्रहरु स्थापना गरेका छन् ।
पार्टीको केन्द्रीय उत्पादन अनुसार नेकपाले जुम्लाको हिमा गाउँपालिका स्थित हाडुल्लेमा एक हजार स्याउका बिरुवा रोपेको छ । उक्त स्याउ रोप्ने कार्यमा नेकपा महासचिव विप्लव सी स्वयं सहभागी भई शुक्रबार रोपिएको नेकपा निकट अखिल समाजवादीका कोषाध्यक्ष बबर सी ले बताएका छन् ।
नेपालको राजनीतिमा उत्पादनलाई मुख्य नीतिको रूपमा अगाडि बढाउने नेपाल कम्युनिस्ट पार्टी पहिलो हो ।