काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको सत्तारूढ गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।
कांग्रेसले आयोजना गरेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मा उनले देशको रक्षा र सुशासनका लागि गठबन्धन जोगाएरै अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।
राष्ट्रिय सहमति बनाएर जाऊँ भनेर आफूले मुख्य राजनीतिक नियुक्तिका पदहरूमध्ये राष्ट्रपति पद कांग्रेसलाई दिऊँ भन्ने प्रस्ताव राखेको पनि उनले बताए । कांग्रेसलाई बाहिर राखेर लोकतन्त्र सहज तरिकाले अघि जाँदैन भनेर आफूले गठबन्धन गरेर सहकार्य गरेको बताए ।
उनले भने, ‘कांग्रेसलाई सहमतिले नै राष्ट्रपति दिऊँ त्यसले राम्रो सन्देश दिन्छ भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यसमा सहमति हुन सकेन र मेरो अन्तरआत्माले कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक आन्दोलन र शान्तिप्रक्रिया पूरा हुँदैन भन्ने लागेपछि गठबन्धन गरेर सहमति गरिएको हो । ’
प्रतिपक्षलाई हामीले लेखा समितिबाहेक अरू नदिने गरेको भए पनि यसपटक संक्रमणकालीन काम टुंग्याउन एमालेलाई तीनवटा समितिको सभापति दिइएको पनि उनले प्रष्ट पारे ।
गठबन्धन टिकाउनका लागि सबैले सक्रिय भूमिक खेल्न पनि उनले अनुरोध गरे । त्यस्तै, प्रचण्ड सानो पार्टीबाट प्रधानमन्त्री बन्यो भनेर कसैले रिसराग नराख्न पनि उनले अपिल गरे। आफू प्रधानमन्त्री बन्नका लागि ठूलो जोखिम उठाएको पनि उनले दाबी गरे ।
त्यस्तै, आफ्नो कार्यशैली सुधार गर्दै जाने र त्यो काम आफ्नै कार्यालयबाट सुरु गरिसकेको पनि उनले बताए ।
उनले शान्ति प्रक्रियालाई टुंग्याउन राष्ट्रिय सहमति आवश्यक रहेको पनि बताए । उनले भने, ‘मैले सुरूदेखि नै घटनाक्रम जे जसरी गएपनि राष्ट्रिय सहमतिको वातावरण बनोस् भन्ने कुरा देशको सबैभन्दा ठूलो दलको नाताले । अब एक खालको सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउनुछ, त्यो भनेको राष्ट्रिय सहमतिबाटै टुंग्याउनुपर्छ हामीले ।’
उनले संविधान कार्यान्वय र विकासका चुनौतीलाई पनि राष्ट्रिय सहमतिबाटै जानुपर्ने बताए । उनले भने, ‘म जसरी प्रधानमन्त्री भएको भएपनि भागबन्डा गर्दा यो बिग सिक्स भनौं राष्ट्रपति प्रधानमन्त्रीलगायतमा । मैले ठूलो पार्टी हुनुको नाताले कांग्रेसलाई राष्ट्रपति दिऔं सहमतिमै त्यसले देशमा नयाँ सन्देश पनि जान्छ । हामी शान्ति सम्झौता हुँदै आएका दलहरूकाबीचमा एकता हुन्छ भन्ने सोचेकै थिएँ । तर, त्यसमा सहमति हुन सकेन । कांग्रेसलाई बाहिर राखेर लोकतान्त्रिक प्रक्रिया र शान्ति प्रक्रिया सही ढंगले जाँदैन ।’