काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २८ गतेबाट सूर्तिजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । महानगरले यसका लागि मंसिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘प्लाष्टिकमा प्याकिङ् गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गर्नुभयो। तर, यसो होइन । सूर्तिजन्य वस्तु प्लाष्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो । प्लाष्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लाष्टिक प्याकिङको कुरा जोडिएको हो । कच्चा सूर्ति, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सूर्तिजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको हो ।’
यसकालागि अनुगमन टोली खटाइने बताईएको छ । अनुगमनमा नगर प्रहरीका ५ वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन् । प्रवक्ता मानन्धरले भने,‘अनुगमन गर्दा पसलमा सूर्तिजन्य वस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउने सम्मको कारबाही हुनेछ ।’