लेटाङ। लेटाङ नगरपालिका–४ का ४० वर्षीय केशरबहादुर भुजेलको उपचारका क्रममा कोशी अस्पतालमा मङ्सिर २१ गते मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
कैदीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा गठित समितिको सदस्यहरूमा कोशी अस्पतालका डा.मनोज ठाकुर,जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओली,लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ छन् ।
घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन छानबिन समितिलाई १५ दिनको म्याद तोकिएको छ । बलात्कार मुद्दामा कात्तिक ६ गते गिरफ्तारीमा परेका भुजेललाई जिल्ला अदालत मोरङको आदेशमा कात्तिक २१ गते पुर्पक्षका लागि मोरङ कारागारमा राखिएको थियो।