काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।
भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयको काममा सहयोग गर्न आग्रह गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजनालाई समयमै सम्पन्न हुनेगरी अघि बढाउनका लागि गृह मन्त्रालय र मातहतका प्रशासनिक निकायहरुको सहयोग रहने बताएका भेटमा सहभागी गृहसचिव दिनेश भट्टराईले जानकारी दिनुभयो ।
‘‘भेटघाटको क्रममा परियोजनाका आगामी गतिविधिहरुमा मूल रुपमा प्रमुख जिल्ला अधिकारीहरु संलग्न भई गर्नुपर्ने काम जग्गा प्राप्ति, परियोजनालाई उपलब्ध गराउनुपर्ने सुरक्षा तथा समन्वयको पार्टमा गृह मन्त्रालयको तर्फबाट हुन सक्ने सहयोगका लागि आग्रह गर्नुभएको छ’ उहाँले भन्नुभयो, ‘माननीय उपप्रधानमन्त्रीज्यूले परियोजनाको सफल कार्यान्वयन, समयमै सम्पन्न गर्ने गरेर कार्यान्वयन गर्न मन्त्रालयको प्रशासन र प्रमुख जिल्ला अधिकारीहरुबाट पर्याप्त र आवश्यक सहयोग हुने आश्वासन उपलब्ध गराउनु भएको छ ।














