गोदावरी नगरपालिकास्थित सशस्त्र प्रहरी बलको वैधनाथ बाहिनीले आफ्नो स्थापना दिवसमा नेपाल सरकारद्वारा प्रतिबन्धित प्लास्टिकजन्य फूल प्रयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनको माग गरिएको छ।
‘जवाफ दे हिसाब दे लुज फोरम’ नामक संस्थाले महेन्द्रनगरस्थित अख्तियारको कार्यालयमा निवेदन दर्ता गराउँदै कानूनको उल्लंघन गर्नेमाथि कारबाहीको माग गरेको हो। निवेदनमा बाहिनीका निमित्त बाहिनीपति दिगविजय सुवेदी र केही व्यापारीबीचको मिलेमतोमा प्रतिबन्धित सामग्री प्रयोग गरिएको र केरा, कुखुरा तथा फूलको अवैध पैठारीमा समेत संलग्नता रहेको आरोप लगाइएको छ।
विगतमा यस्ता सामग्री प्रयोग गर्ने साना व्यवसायीलाई कारबाही हुने गरेकोमा नियमनकारी निकायबाटै भएको यो कार्यले किसानको जीविकोपार्जनमा असर पुगेको निवेदकको दाबी छ। यसबारे सशस्त्र प्रहरीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।














