काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौँका नदी किनारमा रहेका सुकुम्बासी बस्तीको समस्यालाई राजनीतिक दाउपेच बनाउनुको सट्टा स्थायी समाधान खोजिने प्रतिबद्धता जनाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण नदी किनारका बासिन्दाले भोग्नुपरेको सास्ती र जोखिमलाई अब अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो। “अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गरेर सधैँ भोटको राजनीति गरिरहने?” भन्दै उहाँले प्रश्न गर्नुभएको छ।
प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीलाई मानवीयताको ख्याल गर्दै बल प्रयोग नगरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको प्रष्ट पार्नुभयो। नदी किनारका यी बस्तीका कारण ढल निकासमा अवरोध भई उपत्यका नै दुर्गन्धित भइरहेको भन्दै उहाँले यो कदमले काठमाडौँको वातावरण सुधारमा समेत मद्दत पुग्ने बताउनुभयो।
आफ्नो चुनावी वाचा, पार्टीको प्रतिबद्धता र सरकारको ‘१०० बुँदे प्राथमिकता’मा सुकुम्बासी व्यवस्थापन (बुँदा ९१) र अतिक्रमण रोक्ने (बुँदा ९२) कार्य प्राथमिकतामा रहेको उहाँको भनाइ छ। प्रधानमन्त्रीले थप्नुभयो, “हामी सरकारमा छौँ; देशभरका वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याएर वास्तविक पीडितलाई जग्गा वितरण गरी वर्षौँ पुरानो समस्याको स्थायी समाधान गर्नेछौँ। ढुक्क हुनुहोस्।”














