काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा सन् २०२६ लाई ‘नेपाल–आसियान पर्यटन वर्ष’ का रूपमा मनाउने औपचारिक घोषणा गरेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त पर्यटन बजारका रूपमा चिनाउँदै लक्षित रणनीति सार्वजनिक गरेका हुन्।
उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै सीईओ जोशीले हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेको जानकारी दिँदै यो बजार दीर्घकालीन र सम्भावनायुक्त रहेको बताए। उनले बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिने स्पष्ट पारे।
कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए।
सीईओ जोशीका अनुसार सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि हो। यस अवधिमा ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि र २० भन्दा बढी माइस (MICE) कार्यक्रम सम्पन्न भइसकेका छन्।
त्यसैगरी, जेन्जी आन्दोलनपछिको अवधिमा ८ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवर्द्धन, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ पर्यटन पूर्वाधार विकास तथा पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
“पर्यटन केवल कोर सेक्टर मात्र नभई बहु–क्रस सेक्टर हो,” भन्दै जोशीले सन् २०२५ मा २ हजार ६ सय जनशक्तिलाई तालिम प्रदान गरिएको बताए। साथै सस्टेनेबल टुरिजम परियोजनाअन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपाल क्षेत्रका ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर अभिवृद्धि, रोजगारी र बजार सिर्जनामा काम भइरहेको जानकारी गराए।
एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ, जसमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईभन्दा सडक यात्रा, व्यक्तिगत अनुभवमा जोड, अफ–ग्रिड गन्तव्य र संस्कृतिलाई प्राथमिकता दिने प्रवृत्ति समावेश छन्।
आगामी कार्यदिशाबारे जानकारी दिँदै सीईओ जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति, उच्च मूल्य पर्यटनमा केन्द्रित रणनीति र अनुत्पादक कार्यक्रम हटाइने स्पष्ट गरे।
कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नतिजामुखी काममा बोर्ड केन्द्रित रहेको बताउँदै सरकार र निजी क्षेत्रसँगको समन्वयलाई प्राथमिकता दिइएको बताए। कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारी वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्तिमा ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजमबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो। साथै अवसरमा बोर्डको वार्षिक प्रकाशन ‘इन–फोकस’ विमोचन गरिएको छ।



